साउन ३१, २०८३, आइतबार

वर्षाका बेला नदी तथा खोला किनारमा नजान कास्की प्रशासनको आग्रह


Advertisement Image
clock icon 1 hour, 31 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले वर्षात्को समयमा नदी तथा खोला आसपासका क्षेत्रमा उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले अविरल वर्षाका कारण जलसतह बढ्ने, आकस्मिक बाढी तथा भेल आउने, पहिरो जाने, सडक भासिने र नदी तथा खोला किनार कटान हुने जोखिम रहेको जनाएको छ।

पानी परेपछि घाम लाग्दा समेत सुख्खा पहिरो खसेर खोला वा नदी थुनिन सक्ने र एकैपटक खुल्दा पहिरोसहितको लेदो बगेर आउन सक्ने भएकाले नदी तथा खोला किनारमा बस्नु जोखिमपूर्ण हुने प्रशासनले जनाएको छ।

यस्तो समयमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने तथा ढुंगा, बालुवा र गिट्टी निकाल्न नदी वा खोलामा नजान आग्रह गरिएको छ।

त्यस्तै, गाईवस्तु चराउन वा पानी खुवाउन तथा फुटबल, क्रिकेट, भलिबललगायत बाहिरी खेल खेल्न नदी तथा खोला किनारमा नजान प्रशासनले आग्रह गरेको छ।

अभिभावकलाई आफ्ना छोराछोरीको निगरानी गर्न र नदी तथा खोला किनार तथा होचा भूभागमा बसोबास गर्ने नागरिकलाई जलसतह निरन्तर नियाल्न भनिएको छ। जलसतह बढेमा तत्काल सुरक्षित स्थानमा सर्न पनि प्रशासनले अनुरोध गरेको छ।

सवारी चालकलाई नदी तथा खोला किनारका सडक र बगर क्षेत्रमा सवारीसाधन रोक्न वा पार्किङ नगर्न आग्रह गरिएको छ।

बाढी वा अन्य विपद्को आकस्मिक अवस्था आएमा नजिकको प्रहरी, निःशुल्क आपतकालीन नम्बर १०० वा विपद् सूचना तथा उद्धार टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।

सूचना सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले २०८३ साउन ३१ गते जारी गरेका हुन्।

Copyright © 2024 | All rights reserved.