असार २०, २०८३, शनिबार

पोखरामा ‘जब फेयर’ शुरू, ५० भन्दा बढी कम्पनीबाट रोजगारीको अवसर


Advertisement Image
clock icon 11 hours, 24 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । बेरोजगार युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले पोखरामा रोजगार मेला (जब फेयर) शुरू भएको छ।

पोखरा उद्योग वाणिज्य सङ्घ र ग्रोथ सेलर्सको आयोजनामा तथा पोखरा महानगरपालिकाको प्रवर्द्धनमा शुरू भएको मेलामा ५० भन्दा बढी प्रतिष्ठित रोजगारदाता कम्पनी सहभागी भएका छन्।

मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्यमशीलता विकास, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादन महानगरको प्राथमिकतामा रहेको बताए।

उनले नगरवासीलाई दक्ष र रोजगारमुखी बनाउन व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत विभिन्न तालिम, प्रशिक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए।

रोजगार खोज्ने र रोजगारदाता कम्पनीलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजित मेलामा सहभागीले आफ्नो व्यक्तिगत विवरण (सीभी) दर्ता गर्न सक्नेछन् भने कम्पनीहरूले आवश्यक जनशक्ति र उपलब्ध रोजगारीबारे जानकारी दिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार मेलाले रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीचको दूरी घटाउने, दक्ष जनशक्तिलाई उपयुक्त अवसरसँग जोड्ने तथा निजी क्षेत्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउने अपेक्षा गरिएको छ।

नेपालमा शिक्षित बेरोजगारी बढिरहेका बेला यस्ता रोजगार मेलाले रोजगारीको खोजीलाई सहज बनाउने विश्वास गरिएको छ।

यद्यपि, यस्ता कार्यक्रमलाई एकदिने औपचारिकतामा सीमित नराखी स्थायी रोजगारी सिर्जना गर्ने दीर्घकालीन रणनीतिसँग जोड्नुपर्ने आवश्यकता सरोकारवालाले औँल्याउँदै आएका छन्।

Copyright © 2024 | All rights reserved.