साउन ०२, २०८३, शनिबार

जनकविकेशरी धर्मराज थापाको योगदान अविस्मरणीय : प्रदेश प्रमुख भट्ट


Advertisement Image
clock icon 4 hours, 8 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसाहित्य, लोकगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताएका छन्।

धर्मराज–सावित्री थापा प्रतिष्ठानले जनकविकेशरी थापाको १०२औँ जन्मजयन्तीका अवसरमा पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश प्रमुख भट्टले थापाले गाउँगाउँ पुगेर हराउन लागेका लोकभाका र धुन सङ्कलन गर्दै नेपाली लोकसंगीतलाई राष्ट्रिय पहिचान दिलाएको बताएका हुन्।

उनले धर्मराज थापालाई नेपाली लोकगीतको ढुकढुकी र माटोको सुगन्ध बोकेका कालजयी सर्जकका रूपमा स्मरण गर्दै उनका सिर्जनामा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक चित्र झल्किने बताए।

नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जना प्रेरणाको स्रोत बनेको उनको भनाइ छ।

प्रदेश प्रमुख भट्टले आधुनिक तथा पश्चिमा संस्कृतिको प्रभाव बढिरहेका बेला धर्मराज थापाजस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु अझ सान्दर्भिक भएको बताए।

उनले केवल गीत गाउने वा सम्झना कार्यक्रम आयोजना गरेर मात्र सम्मान व्यक्त नहुने उल्लेख गर्दै लोकसाहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्ने, युवा पुस्तालाई लोकसंस्कृतिसँग जोड्ने तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने कार्य नै धर्मराज थापाप्रतिको सच्चा श्रद्धाञ्जली हुने धारणा राखे।

उनले कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहने भन्दै यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने स्रष्टा राष्ट्रका अमूल्य सम्पत्ति भएको बताए।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानले लोक संस्कृति साहित्य पुरस्कारबाट विशिष्ट साधक विश्वप्रेम अधिकारी तथा लोकसंगीत पुरस्कारबाट भैरव सांस्कृतिक संरक्षण समिति पोखरालाई नगदसहित सम्मान गरेको थियो।

Copyright © 2024 | All rights reserved.