साउन ०२, २०८३, शनिबार

सुकुम्बासी व्यवस्थापनपछि मात्रै पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माण : मेयर आचार्य


Advertisement Image
clock icon 1 hour, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ।

आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माणको दीर्घकालीन योजना कार्यान्वयन गर्नुअघि प्रभावित परिवारहरूको पुनर्स्थापनालाई प्राथमिकतामा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको महानगरले जनाएको छ।

नगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापन कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई आधार बनाएर गरिने स्पष्ट पार्दै उचित पुनर्स्थापनाको व्यवस्था नगरी कसैलाई पनि हटाइने वा विस्थापित नगरिने बताए।

उनका अनुसार महानगरको लक्ष्य पृथ्वीचोकमा आधुनिक, व्यवस्थित र सुविधासम्पन्न बसपार्क निर्माण गर्नु हो। यसका लागि सुकुम्बासीहरूको सम्मानजनक व्यवस्थापन पहिलो सर्त भएकाले उनीहरूको अधिकार र जीवनयापनलाई असर नपर्ने गरी प्रक्रिया अघि बढाइनेछ।

मेयर आचार्यले आधुनिक बसपार्क निर्माणसँगै पोखराको यातायात व्यवस्थापन थप प्रभावकारी हुने, यात्रुहरूले गुणस्तरीय सेवा पाउने तथा पृथ्वीचोक क्षेत्रको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।

साथै विकास निर्माणसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै महानगरले पुनर्स्थापनापछि मात्रै निर्माण कार्यलाई तीव्रता दिने नीति लिएको उनले बताए।

महानगरपालिकाले विकास आयोजना र मानवीय पक्षबीच सन्तुलन कायम गर्दै पृथ्वीचोक बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न यातायात केन्द्रका रूपमा विकास गर्ने तयारी गरेको जनाएको छ।

Copyright © 2024 | All rights reserved.