0
प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजमा देखिने जटिल परिस्थिति व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी नेपाली कांग्रेसकै भएको बताएका छन्।
उनले जिम्मेवार राजनीतिक शक्तिका रूपमा कांग्रेसले संयम, तथ्य र जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका विभिन्न तहका नेताहरूसँग भएको छलफलमा सभापति थापाले कांग्रेस मुलुकको मुख्य तथा अभिभावक राजनीतिक शक्ति भएकाले समाजमा उत्पन्न हुने जटिल परिस्थितिलाई सम्हाल्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताए।
उनले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य र आधिकारिकता पुष्टि गर्न आग्रह गरे।
अपुष्ट सूचनाका आधारमा हतारमा प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्ने भएकाले राजनीतिक नेतृत्व अझ जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
सभापति थापाले “आगो जसले लगाए पनि निभाउने काम हाम्रो हो” भन्दै बाह्य आलोचना वा अफवाहभन्दा पनि आफ्नो जिम्मेवारी र कर्तव्यमा केन्द्रित हुन नेता–कार्यकर्तालाई आग्रह गरे। उनले समाजमा देखिएका चुनौतीलाई संयमता, संवाद र सही सूचनाका आधारमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन शनिबार सार्वजनिक बिदाको दिन पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय खुला रहने जानकारी दिँदै उनले पार्टीका पदाधिकारी, कर्मचारी तथा आफू स्वयं नेता–कार्यकर्ताको सम्पर्कमा रहने बताए। साथै, संसदीय दलका नेता र सांसदहरूलाई समेत सक्रिय रूपमा परिचालन गरिएको जानकारी दिए।
छलफलमा केन्द्रीय नेताका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
Copyright © 2024 | All rights reserved.