साउन २९, २०८३, शुक्रबार

पोखरा ठूलो परिमाणमा लागुऔषधसहित तीन जना पक्राउ


Advertisement Image
clock icon 1 hour, 55 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधविरुद्ध सञ्चालन गरेको अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटाको चौबिसे गाउँपालिका-८ स्थायी ठेगाना भई हाल पोखरा-२५ हेम्जामा बस्दै आएका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो।

उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी ६१ एम्पुल लागुऔषध, एक थान मोबाइल र २१ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, वडा प्रहरी कार्यालय बैदाम, बगर र रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा-९ नागढुंगामा लागुऔषध बिक्री-वितरण भइरहेको सूचनाका आधारमा पर्वतको मोदी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल नागढुंगामा बस्दै आएका २२ वर्षीय मोहम्मद इशाक सरिफलाई पक्राउ गरेको हो।

उनको साथबाट पाँच किलो गाँजा, ट्रामाडोल हाइड्रोक्लोराइड ७९० चक्की, टापेन्टाडोल ३६६ चक्की, दुई थान मोबाइल र एक थान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सरिफले पोखरा-१४ युनिटोलमा बस्ने २६ वर्षीय आविष्कार सारूबाट लागुऔषध खरिद गरेको खुलेपछि प्रहरीले सारूको कोठामा खानतलासी गरेको थियो। त्यसक्रममा थप नौ हजार चक्की टापेन्टाडोल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। लिम्बूलाई सात दिन तथा सरिफ र सारूलाई आठ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले लागुऔषधको ओसारपसार तथा बिक्री-वितरण नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको बताएका छन्।

Copyright © 2024 | All rights reserved.