बैशाख १०, २०८३, बिहीबार

तराईमा प्रचण्ड गर्मी, सावधानी अपनाउन आग्रह


Advertisement Image
clock icon 2 hours, 50 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। केही दिनयता तराई-मधेसका जिल्लामा बढ्दै गएको अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज पनि देशका अधिकांश तराई क्षेत्रमा ‘तातो दिन’ कायम रहने र केही स्थानमा ‘तातो हावा (हिटवेभ)’ चल्ने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार कर्णाली प्रदेशबाहेक देशका ६ वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरूमा आज तातो दिन रहने प्रक्षेपण गरिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो हावाको लहर चल्ने सम्भावना समेत रहेको विभागले आज बिहान सार्वजनिक गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।

विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै घामबाट बच्न र अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव दिएको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

१९ स्थानमा तापक्रम पूर्वानुमान सार्वजनिक

विभागले आज बिहान १९ स्थानका अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ । तीमध्ये पाँच स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको विभागले जनाएको छ । भैरहवाको अधिकतम तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ भने नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान छ ।

त्यस्तै धनुषाको जनकपुर, डोटीको दिपायल र कैलालीको धनगढीमा आज अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । बाराको सिमरामा भने तापक्रम ३६ देखि ३८ डिग्री सेल्सियसको बीचमा रहने विभागले जनाएको छ ।

पहाडी र हिमाली क्षेत्रमा सामान्य मौसम परिवर्तनको सम्भावना

विभागका अनुसार शुक्रबार र शनिबार राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना समेत औंल्याइएको विभागले जनाएको छ ।

अत्यधिक गर्मी र तातो हावाको जोखिम बढेसँगै स्वास्थ्य सावधानी अपनाउन र पर्याप्त पानी सेवन गर्न विशेषज्ञहरूले समेत सुझाव दिएका छन् ।

Copyright © 2024 | All rights reserved.