बैशाख १०, २०८३, बिहीबार

पोखरामा प्रहरीको कडा प्रहार: १२२ जना एकै रातमा पक्राउ


Advertisement Image
clock icon 2 hours, 17 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की प्रहरीले जिल्लाभर सञ्चालन गरेको व्यापक ‘स्वीप अपरेसन’ मा एक सय २२ जना व्यक्तिलाई पक्राउ गर्दै शान्ति-सुरक्षा कायम गर्ने आफ्नो सक्रियता थप बलियो बनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराति करिब ९ बजेदेखि बिहान ६ बजेसम्म करिब १० घण्टा सञ्चालन गरिएको उक्त विशेष अपरेसनमा लागुऔषधको बिक्री-वितरण तथा सेवन, टोले गुण्डागर्दी, मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट करिब सय जना प्रहरी परिचालन गरी सञ्चालन गरिएको अपरेसनलाई प्रहरीले समाजमा शान्ति सुरक्षा सुदृढ गर्ने निरन्तर अभियानको रूपमा अघि बढाएको जनाएको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार अपरेसनका क्रममा सबैभन्दा बढी ३५ जना पोखरा-६ लेकसाइड क्षेत्रबाट नियन्त्रणमा लिइएका छन्। त्यसपछि पोखरा-९ र १० (पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक) क्षेत्रबाट २० जना पक्राउ परेका छन्।

यस्तै पोखरा-१४ र १५ (एयरपोर्ट, फूलवारी, खसिबजार, रामबजार) क्षेत्रबाट १५ जना, पोखरा-२९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख) क्षेत्रबाट १२ जना तथा पोखरा-१ देखि ५ सम्मका क्षेत्रबाट नौ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पोखरा-११, १२ र १३ क्षेत्रबाट ८ जना, पोखरा-८, २७ र २८ क्षेत्रबाट समान ६/६ जना, पोखरा-३२ क्षेत्रबाट तीन जना तथा माछापुच्छ्रे गाउँपालिका क्षेत्रबाट तीन जना पक्राउ परेका छन्।

त्यसैगरी पोखरा-१६ र १८ क्षेत्रबाट २/२ जना तथा अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट एक जना नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यसैबीच कास्की प्रहरीले पछिल्ला दिनमा जिल्लाभर ‘प्रिभेन्टिभ पोलिसिङ’ अन्तर्गत रात्रीकालीन गस्ती, लक्षित अपरेसन र संवेदनशील क्षेत्रहरूमा निगरानी कडा पारेको छ।

लागुऔषध नियन्त्रण, गुण्डागर्दी न्यूनीकरण र सार्वजनिक शान्ति-सुरक्षालाई प्राथमिकतामा राख्दै प्रहरीले निरन्तर अभियान सञ्चालन गरिरहेको छ।

इन्स्पेक्टर पाण्डेका अनुसार यस्ता अपरेसन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। उनले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

Copyright © 2024 | All rights reserved.