बैशाख १०, २०८३, बिहीबार

शिशुवा-खुदीखोला सडक शुभारम्भ


Advertisement Image
clock icon 2 hours, 33 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० शिशुवादेखि सिसाघाटसम्मको शिशुवा-खुदीखोला सडक खण्ड औपचारिक रूपमा उद्घाटन गरिएको छ।

नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत उक्त सडक निर्माण गरिएको हो।

सडकको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले पोखरामा विकास साझेदारहरूको लगानी उल्लेख्य रूपमा बढेको बताए। उनले महानगरमा ठूलो मात्रामा पूर्वाधार परियोजनाहरू सञ्चालन भइरहेको जानकारी दिए।

नगर प्रमुख आचार्यले विकास साझेदारहरूसँगको सहकार्य सहज रूपमा प्राप्त भएको नभई निरन्तर पहल र समन्वयको परिणाम भएको उल्लेख गरे। उनका अनुसार पोखरामा हाल करिब ३३ अर्ब रुपैयाँभन्दा बढीका विकास परियोजनाहरू सञ्चालनमा छन्।

उनले शिशुवाचोकदेखि खुदीखोलासम्मको सडक विश्व बैङ्ककै सहयोगमा निर्माण सम्पन्न भएको उल्लेख गर्दै यसको दोस्रो चरणको काम पनि अघि बढ्ने अपेक्षा व्यक्त गरे।

साथै, तालचोक–बेगनास सडक निर्माणमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित म्यादभित्र काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पोखराको दिगो विकासतर्फको यात्रा सराहनीय रहेको बताउँदै छिमेकी स्थानीय तहका रूपमा विकास अभियानमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे। उनले शिशुवा–खुदीखोला सडकलाई नमुना पूर्वाधारका रूपमा विकसित भएको बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्यालले नागरिकको अपेक्षाअनुसार पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए।

पूर्वाधार विकास समितिका संयोजक नरेन थापाले समानुपातिक र समावेशी विकासको सिद्धान्तअनुसार महानगर अघि बढिरहेको बताए।

वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विकास निर्माणमा सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे। 

लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम गिरी र अध्यक्ष जानुका पराजुलीले सडक निर्माणले स्थानीय उपभोक्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे।

आयोजनाका फोकल पर्सन इन्जिनियर नवीन गौतमका अनुसार शिशुवादेखि खुदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर सडक निर्माण गरिएको हो।

विश्व बैङ्कको ३४ करोड ११ लाख २० हजार २९५ रुपैयाँको सहयोगमा निर्माण भएको उक्त सडकमा १५ मिटर डबल लेन, ७ मिटर सपोर्ट बाटो, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुटपाथसमेत समावेश गरिएको छ।

नयाँ सडक सञ्चालनमा आएपछि उक्त क्षेत्रको यातायात सुविधा सहज हुने तथा शहरी पूर्वाधार विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

Copyright © 2024 | All rights reserved.