0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा कायम राख्न र विपद् व्यवस्थापनमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताएका छन्।
गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित गण्डकी प्रदेश प्रहरी कार्यालयका भवनहरूको बिहीबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले प्रहरी संगठनले राज्य र नागरिक सुरक्षाको गहन जिम्मेवारी प्रभावकारी रूपमा बहन गर्दै आएको उल्लेख गरे।
उनले हरेक आपत्कालीन परिस्थितिमा राज्यको प्रतिनिधिका रूपमा पहिलो उपस्थिति रहने सुरक्षा निकायलाई आधुनिक प्रविधि, साधन–स्रोत र पूर्वाधारमा अझ सुदृढ बनाउन सरकार निरन्तर लगानी गर्नुपर्ने आवश्यकता औँल्याए।
संवैधानिक व्यवस्थाअनुसार गण्डकी प्रदेश सरकारले २०७५ सालमा स्थापना भएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरेको उनले जानकारी दिए।
नवनिर्मित कार्यालय भवन, ब्यारेक, क्वाटर गार्ड, कार्यालय प्रमुख तथा वरिष्ठ अधिकृत निवास र मेस भवनहरूको निर्माणसँगै प्रहरी संगठनको क्षमता, सीप र दक्षता थप सुदृढ हुने विश्वास मुख्यमन्त्री पाण्डेले व्यक्त गरे।
उनका अनुसार यी संरचनाले भर्ना छनोट, आधारभूत तथा सेवाकालीन तालिम सञ्चालनमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछन्। “यो तालिम केन्द्रले समयसापेक्ष प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ भन्ने अपेक्षा छ,” उनले भने।
मुख्यमन्त्री पाण्डेले अपराध नियन्त्रण, अनुसन्धान तथा मानवीय उद्धारमा आधुनिक प्रविधि र प्रक्रियाको प्रभावकारी प्रयोग गर्ने क्षमताको विकासमा समेत तालिम केन्द्र महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटका भवनमध्ये ३४ वटा सम्पन्न भइसकेको र एउटा अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
सीमित साधन–स्रोतका बाबजुद पनि प्रदेश सरकारले शान्ति सुरक्षा र नागरिकप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै वार्षिक करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए।
प्राविधिक प्रहरी नायब उपरीक्षक इ. चीरञ्जीवी महतोका अनुसार कार्यालय परिसरमा कार्यालय भवन, समादेशक निवास, दुईवटा सिनियर अफिसर क्वाटर निर्माणका लागि मूल्य अभिवृद्धि करसहित ६ करोड ४६ लाख १२ हजार ३२७ रुपैयाँ खर्च भएको छ। त्यसैगरी दुई वटा ब्यारेक, दुई वटा मेस, क्वाटर गार्ड लगायतका संरचनाका लागि ६ करोड ५५ लाख ४५ हजार ७१६ रुपैयाँ भुक्तानी भएको छ।
Copyright © 2024 | All rights reserved.