बैशाख १४, २०८३, सोमबार

कांग्रेसमा भीष्मराजलाई संसदीय दलको नेता बनाउने सहमति


Advertisement Image
clock icon 2 hours, 2 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेता चयन अन्ततः सहमतिमा भएको छ।

पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक प्रतिस्पर्धा र समूहगत रस्साकस्सीबीच अब भीष्मराज आङ्देम्बेलाई दलको नेताका रूपमा अघि सार्ने सहमति बनेको छ। यद्यपि औपचारिक प्रक्रिया पूरा गर्न भने अझै केही समय लाग्ने देखिएको छ।

दलको नेतामा आङ्देम्बेलाई अघि बढाउने सहमति भएको महामन्त्री प्रदीप पौडेलले बताए। यसअघि अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यबीच दाबी रहँदा तेता चयन प्रक्रिया लम्बिएको थियो। आङ्देम्बेलाई संस्थापन र इतर दुवै पक्षको समर्थन जुट्दै जाँदा सर्वसम्मत नेतृत्व चयनको वातावरण बनेको छ।

पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहको समर्थन आङ्देम्बेलाई मिल्नु निर्णायक मानिएको छ।

उपसभापति विश्वप्रकाश शर्माले सर्वसम्मत नेतृत्व चयनका लागि सक्रिय भूमिका खेलेका छन् भने उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरेले पनि सहमति खोज्ने प्रयास तीव्र पारेका थिए।

सभापति गगन थापासहित शीर्ष नेताहरूबीच आइतबार दिनभर भएको छलफलपछि सहमतिको आधार तयार भएको हो।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाइ बहुमत रहेको सन्दर्भमा कांग्रेस सानो आकारमा भए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा रहने निश्चित छ। यही कारण संसदीय दलको नेता केवल पार्टीभित्रको पद नभई राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनसँग जोडिएको भूमिकामा परिणत भएको छ।

प्रमुख प्रतिपक्षी दलको नेताले संवैधानिक परिषद्मा समेत भूमिका पाउने भएकाले यो पद संस्थागत रूपमा प्रभावशाली मानिन्छ। त्यसैले कांग्रेसभित्र देखिएको रस्साकस्सी केवल आन्तरिक शक्ति संघर्ष मात्र नभई राज्य संयन्त्रमा प्रभाव कायम राख्ने प्रयासका रूपमा समेत बुझिएको छ।

को हुन् आङ्देम्बे?

२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ मा जन्मिएका आङ्देम्बे विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा स्थापित नेता हुन्। २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा उभिएका उनी त्यसपछिका आन्दोलनहरूमा सक्रिय रहे। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमार्फत संगठन निर्माणमा संलग्न हुँदै उनले पार्टीभित्र आफ्नो अलग पहिचान बनाएका छन्।

जनआन्दोलन २०४६ मा सक्रिय सहभागिताले उनलाई अग्रपंक्तिका युवा नेताका रूपमा स्थापित गर्‍यो। सो आन्दोलनले बहुदलीय लोकतन्त्र पुनःस्थापना गर्दा उनले प्रत्यक्ष योगदान दिएका थिए र त्यसक्रममा पक्राउ समेत परेका थिए। २०४६ देखि २०५२ सम्म नेविसंघको केन्द्रीय सदस्यका रूपमा काम गर्दै उनले संगठन विस्तार र कार्यकर्ता परिचालनमा भूमिका खेले।

२०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बनेपछि उनको राजनीतिक प्रभाव थप विस्तार भयो। जनआन्दोलन २०६२/०६३ मा पनि उनी सक्रिय रहँदै राजतन्त्रविरुद्धको आन्दोलनमा सहभागी भए।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट निर्वाचित हुँदै उनले संसदीय राजनीतिमा औपचारिक प्रवेश गरेका थिए। संविधानसभा अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिका रूपमा उनले आर्थिक नीति र उपभोक्ता अधिकारका क्षेत्रमा काम गरेका छन्।

आङ्देम्बेलाई अघि सार्ने सहमति कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा बुझिएको छ। लामो समयदेखि नेतृत्व चयनमा देखिएको ढिलाइले पार्टीभित्र निर्णय क्षमता कमजोर भएको सन्देश गएको थियो। अब सर्वसम्मत नेतृत्व चयन भएमा आन्तरिक एकता सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.