0
प्रतिक्रिया
पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवालाई थप व्यवस्थित बनाएको छ। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न कार्यालयले सेवा समय विस्तार गर्नुका साथै सेवा दिने काउन्टरको संख्या पनि बढाएको जनाएको छ।
कार्यालयले जारी गरेको सूचनाअनुसार मिति २०८३ साउन ६ गतेदेखि सार्वजनिक बिदाबाहेक कार्यालय खुल्ने हरेक दिन बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन भइरहेको छ।
सेवाग्राहीलाई सहज बनाउन बिहान ७ः४५ बजेदेखि टोकन वितरण गरिनेछ र टोकनमा उल्लेख गरिएको समयअनुसार सेवा प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रशासनका अनुसार यसअघि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिसकेका वा बायोमेट्रिक दिइसकेका नागरिकले पुनः विवरण दर्ता गराउन आवश्यक छैन।
विवरण दर्ताका क्रममा प्राप्त कागजातमै राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख हुने भएकाले आवश्यक पर्दा सोही नम्बर प्रयोग गर्न सकिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले हालसम्म कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिलाई वितरण गरिसकेको र अहिले वितरणका लागि कुनै पनि परिचयपत्र बाँकी नरहेको स्पष्ट पारेको छ।
विवरण दर्ता गराएका नागरिकको राष्ट्रिय परिचयपत्र कार्यालयमा प्राप्त भएपछि विवरण दर्ताका क्रममा उल्लेख गरिएको मोबाइल नम्बरमा एसएमएस पठाइने व्यवस्था रहेको प्रशासनले जनाएको छ। एसएमएस प्राप्त भएपछि मात्र सम्बन्धित व्यक्तिले विवरण दर्ता गरिएको कार्यालयमा गई परिचयपत्र बुझ्न सक्नेछन्।
मोबाइलमा सूचना नआउँदासम्म वा कार्यालयबाट आधिकारिक सूचना जारी नभएसम्म राष्ट्रिय परिचयपत्र लिन कार्यालयमा उपस्थित नहुन तथा अनावश्यक भीड नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणसँग अनुरोध गरेको छ।
Copyright © 2024 | All rights reserved.