बैशाख १५, २०८३, मंगलबार

गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट गण्डकीका ७१ जना लाभान्वित


Advertisement Image
clock icon 3 hours, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन् ।

स्थानीयस्तरमा उपचार सम्भव नभई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि प्रदेश सरकारले विसं २०७६ देखि निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको हो ।

यो कार्यक्रममार्फत गर्भवती र २८ दिनसम्मका नवजात शिशुमा जटिलता देखिए अवस्था हेरी हेलिकोप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा उपचारका लागि पठाउने व्यवस्था गरिएको छ ।

नजिकको स्वास्थ्य संस्थाको सिफारिसका आधारमा दुर्गम क्षेत्रबाट उद्धार गरिँदै आएको स्वास्थ्य मन्त्रालयका मेडिकल रेकर्ड निरीक्षक बुद्धिसागर अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार विसं २०७६ अघि ४ जना, २०७६ मा १० जना, २०७७ मा ३३ जना, २०७८ मा ८ जना, २०७९ मा ५ जना, २०८० मा ४ जना, २०८१ मा १ जना र २०८२ मा ६ जनाले सेवा लिएका छन् ।

यो सेवा लिनेमा सबैभन्दा बढी बागलुङका ३० महिला छन् । त्यसैगरी म्याग्दीका १८, गोरखाका ६, मुस्ताङका ५, लमजुङका ४ तथा पर्वत र मनाङका २/२ जना छन् ।

अधिकारीका अनुसार पछिल्लो समय हवाई उद्धारको आवश्यकता घट्दै गएको छ । स्थानीय अस्पतालको स्तरोन्नति र विशेषज्ञ चिकित्सक सेवा गाउँपालिकासम्म विस्तार भएकाले उद्धार गर्नुपर्ने अवस्था कम भएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको यो कार्यक्रमसँगै सङ्घीय सरकारले पनि दुर्गम क्षेत्र लक्षित हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ । तर गण्डकी प्रदेशले प्रदेशभित्र जुनसुकै स्थानबाट पनि उद्धारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.