0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ मा आयोजित तरबुजा मेलामा एकैदिन करिब २० हजार किलो तरबुजा बिक्री भएको छ । तरबुजा तथा खरबुजा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि सञ्जाल पोखरा–१३ को आयोजना तथा वडा कार्यालयको समन्वयमा मेला आयोजना गरिएको हो ।
मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको कृषि सञ्जाल पोखरा–१३ का अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार मेलामा ३२ वटा स्टल राखिएको थियो । विभिन्न वडाका कृषकहरूले आफूले उत्पादन गरेका तरबुजाको प्रदर्शनी तथा बिक्री गरेका थिए ।
मेलाका अवसरमा सबैभन्दा बढी क्षेत्रफलमा तरबुजा खेती गर्ने चार जना कृषकलाई सम्मान गरिएको छ । ३५ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरेका बाघमारा पशुपालन तथा कृषि फर्म, पोखरा–३३ तिखेढुंगाका सञ्चालक रमेश आचार्यलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै २४ रोपनी क्षेत्रफलमा तरबुजा खेती गरेका कृष्ति हिल कृषि तथा पशुपन्छी हल फर्म, पोखरा–२१ का सञ्चालक ज्ञानबहादुर कार्कीलाई नगद ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । २२ रोपनी क्षेत्रफलमा खेती गरेका एस बराल कृषि फर्मका सञ्चालक सुन्दर बराललाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र तथा २० रोपनी क्षेत्रफलमा खेती गरेका मणिदीप कृषि फर्म, पोखरा–१३ का सञ्चालक श्रीधर बराललाई नगद ३ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले नगदसहित सम्मान गरेका हुन् । मेलाको उद्घाटन गर्दै मेयर आचार्यले यस्ता कार्यक्रमले कृषकलाई थप प्रोत्साहन मिल्ने बताए । उनले कृषकको उत्पादनलाई बजारको सुनिश्चितता गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा महानगर प्रतिबद्ध रहेको उल्लेख गरे ।
पोखरा–१३ का वडाध्यक्ष किरण बराल ले दुई वर्षअघि माटो परीक्षणपछि सुरु गरिएको तरबुजा खेतीमा अहिले युवाको आकर्षण बढ्दै गएको बताए । उनका अनुसार उक्त क्षेत्रमा २५ जना किसान व्यावसायिक रूपमा तरबुजा खेतीमा सक्रिय छन् ।
पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कृषकलाई तरबुजा खेतीतर्फ आकर्षित गर्न विभिन्न सहुलियत उपलब्ध गराउँदै आएको बताए । उनले बीउ, मल्चिङ प्लास्टिक, असिना छेक्ने जाली तथा प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गरिँदै आएको जानकारी दिए ।
मेलामा गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी सचिव प्रेरणा सेढाई भट्टराई, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोकर्ण कार्की तथा पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई लगायतले स्थानीय उत्पादनको बजारीकरणमा जोड दिएका थिए ।
मेलामा प्रतिकिलो ५५ रुपैयाँमा तरबुजा बिक्री गरिएको थियो । तरबुजा खरिद गर्ने उपभोक्ताको उल्लेख्य भीड लागेको थियो । साथै, मेलामा तरबुजा खाने प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
Copyright © 2024 | All rights reserved.