0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई तीन दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ । बसपार्क निर्माणको तयारीसँगै महानगरले आवश्यक कागजातसहित वडा नं. ९ कार्यालयमा विवरण बुझाउन सूचना जारी गरेको हो ।
महानगरले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको बसपार्क क्षेत्रभित्र बसोबास गर्दै आएका र यसअघि महानगरबाट निस्सा प्राप्त गरेका व्यक्तिले २०८३ जेठ ८ गतेभित्र विवरण बुझाउनुपर्नेछ ।
सूचनामा महानगरबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली तथा परिवारका सदस्यको नागरिकता वा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
साथै परिवारका सदस्यबीचको नाता खुल्ने कागजात वा घरमूलीको स्वःघोषणा पत्रसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । महानगरले निवेदनको ढाँचा समेत संलग्न गरेर सूचना सार्वजनिक गरेको छ ।
यसअघि महानगरपालिकाले वैशाख ४ गते बसपार्क क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । उक्त समयसीमा अब तीन दिनपछि सकिन लागेको छ ।
पृथ्वीचोक क्षेत्रमा आधुनिक बसपार्क निर्माण गर्ने उद्देश्यले करिब ५० वर्षअघि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि लामो समयसम्म योजना कार्यान्वयनमा नआउँदा त्यहाँ क्रमशः सुकुमवासी तथा अव्यवस्थित बस्ती विस्तार हुँदै गएको छ ।
अहिले उक्त क्षेत्रमा चार सयभन्दा बढी घरटहरा निर्माण भइसकेका छन् भने शुरूआती २०५ रोपनी क्षेत्रफल खुम्चिएर करिब २६ रोपनीमा सीमित भएको महानगरको तथ्यांक छ ।
यसैबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वास्तविक सुकुमवासीहरूको व्यवस्थापन सुनिश्चित गरेर मात्रै बसपार्क निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् । उनका अनुसार बसपार्क निर्माणका लागि आवश्यक तयारी पूरा भइसकेको छ भने त्यहाँ बसोबास गर्ने भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको लगत संकलनसमेत सम्पन्न भइसकेको छ ।
उनले भने, “महानगरपालिका वास्तविक सुकुमवासीहरूको व्यवस्थापनको तयारीमा छ ।” सुकुमवासीहरूको व्यवस्थापन गरेर वा व्यवस्थापनको ग्यारेन्टी गरेर मात्र त्यहाँ बसपार्क निर्माण हुने उनले बताए ।
Copyright © 2024 | All rights reserved.