जेठ २४, २०८३, आइतबार

नेपाल एसियन गेम्स छनोटको फाइनलमा, ओमान आठ विकेटले पराजित


Advertisement Image
clock icon 1 hour, 6 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल एसियन गेम्स पुरुष ट्वान्टी-२० छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

सिंगापुरमा आइतबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलिङ आक्रमण सामु टिक्न नसक्दा १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमै सीमित भयो।

ओमानका लागि कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ रन जोडे। अन्य ब्याट्सम्यानहरू नेपाली बलरका सामु लामो समय टिक्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नियमित अन्तरालमा विकेट लिएका थिए। करण केसीले ४ ओभरमा १ मेडनसहित ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट हात पारे भने कुशल मल्ल, शाहब आलम र कप्तान दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

जवाफमा नेपालले ९.२ ओभरमै लक्ष्य पूरा गर्दै सहज जित निकाल्यो। शुरूआतमै ओपनर कुशल भुर्तेल र आसिफ शेख गुमाए पनि नेपालले खेल नियन्त्रणमा लिएको थियो। भुर्तेलले ८ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाए भने आसिफ शेख १ रनमा आउट भए।

त्यसपछि कप्तान रोहित पौडेल र लोकेश बमले अविजित साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याए। लोकेशले २६ बलमा ७ चौका र १ छक्कासहित ४४ रन बनाए भने रोहितले २० बलमा २ चौकासहित २१ रन जोडे।

नेपालले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो खेलमा चीनलाई २२१ रनले र दोस्रो खेलमा मलेसियालाई १६७ रनले पराजित गर्दै नेपाल समूह विजेताका रूपमा सेमिफाइनल पुगेको हो।

नेपाल र ओमानबीच हालसम्म ९ ओटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले ६ खेल जितेको छ भने ओमानले २ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।

नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ।

Copyright © 2024 | All rights reserved.