0
प्रतिक्रिया
पोखरा। होटल प्रतिनिधि समाज पोखराले पोखरा महानगरपालिका-१७ को वडा कार्यालय र वडा प्रहरी कार्यालय बैदामसँगको सहकार्यमा बिरौटाचोकमा प्रहरी बिट स्थापना गरेको छ।
‘टोल-टोलमा प्रहरी, सुरक्षित समाज’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत समाजले बिरौटाचोकमा प्रहरी बिट स्थापना गरेको हो। समाजले गत वर्ष ‘घर–घरमा प्रहरी’ अभियान सञ्चालन गरेको थियो।
प्रहरी बिट हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले होटल प्रतिनिधि समाजले विगतदेखि नै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सञ्चालन गर्दै नेपाल प्रहरीसँग सहकार्य गर्दै आएको बताए।
उनले समाजले पर्यटकीय गतिविधि, वातावरण संरक्षण, रक्तदानलगायत सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै समुदाय र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउन यस्ता पहल प्रभावकारी हुने बताए।
एसपी कार्कीले पर्यटकीय सहर पोखरामा शान्ति सुरक्षा कायम राख्न स्थानीय समुदाय, व्यवसायी र सुरक्षानिकायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
उनले प्रहरी बिटले नागरिक र प्रहरीबीचको दूरी घटाउने, अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल प्रहरी, पर्यटक प्रहरी र होटल प्रतिनिधि समाजबीचको सहकार्यलाई निरन्तरता दिइने बताए।
पोखरा महानगरपालिका-१७ की वडाध्यक्ष राधिका शाहीले शान्ति सुरक्षा कायम गर्नु प्रहरीको मात्र नभई समुदायको पनि साझा दायित्व भएको बताइन्।
उनले वडा, नेपाल प्रहरी र स्थानीय संघ-संस्थाबीचको सहकार्यबाट मात्र सुरक्षित र सभ्य समाज निर्माण गर्न सकिने उल्लेख गर्दै होटल प्रतिनिधि समाजको प्रहरी बिट स्थापना अभियान प्रशंसनीय रहेको धारणा राखिन्।
वडाध्यक्ष शाहीले प्रहरी बिटले स्थानीयवासी, व्यवसायी तथा पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
समुदाय-प्रहरी साझेदारीको अवधारणालाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै उनले आगामी दिनमा पनि वडा कार्यालयले शान्ति सुरक्षा, सामाजिक सद्भाव र पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि आवश्यक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटकीय सहर पोखराको दिगो विकासका लागि सुरक्षित वातावरण अपरिहार्य रहेको बताएका छन्।
उनले पर्यटक र स्थानीय नागरिकले सुरक्षाको अनुभूति गर्न सके मात्र पर्यटन क्षेत्रले थप गति लिन सक्ने उल्लेख गर्दै होटल प्रतिनिधि समाज पोखराले सञ्चालन गरेको प्रहरी बिट स्थापना अभियान प्रशंसनीय रहेको बताए।
अध्यक्ष पहारीले पर्यटन प्रवर्द्धनमा सरकार, सुरक्षानिकाय, पर्यटन व्यवसायी र स्थानीय समुदायबीचको सहकार्य आवश्यक रहेको धारणा राख्दै बिरौटाचोकमा स्थापना गरिएको प्रहरी बिटले पर्यटकमैत्री वातावरण निर्माण, शान्ति सुरक्षा सुदृढीकरण तथा पोखराको सकारात्मक छवि प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
उनले सुरक्षित पर्यटन गन्तव्यका रूपमा पोखराको पहिचानलाई अझ बलियो बनाउन यस्ता समुदाय-प्रहरी साझेदारीका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
महिला पर्यटन व्यवसायी संघ (टेवान)की अध्यक्ष शोभा पाण्डेले पर्यटकीय राजधानी पोखरामा आम नागरिक र पर्यटकको सुरक्षा सुनिश्चित हुन सके मात्र पर्यटन व्यवसाय थप चलायमान बन्न सक्ने बताइन्। उनले समुदाय, व्यवसायी र सुरक्षा निकायबीचको सहकार्यले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने धारणा राखिन्।
महिला सञ्जालकी अध्यक्ष बबिताले नेपाल प्रहरी र नागरिकबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्न तथा समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
समाजका अध्यक्ष माधव लम्सालले नागरिकको सुरक्षा नै व्यवसाय र पर्यटन क्षेत्रको आधार भएको बताए। उनले सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरीसँग सहकार्य गर्दै समाजले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।
अध्यक्ष लम्सालले गत वर्ष ‘घर-घरमा प्रहरी’ अभियान सञ्चालन गरिएको स्मरण गर्दै यस वर्ष ‘टोल-टोलमा प्रहरी, सुरक्षित समाज’ भन्ने नारासहित विभिन्न स्थानमा प्रहरी बिट स्थापना गर्ने अभियान अघि बढाइएको बताए।
नागरिक सुरक्षित भए मात्र व्यवसायी सुरक्षित हुने र पर्यटन उद्योगले गति लिने धारणा राख्दै उनले होटल प्रतिनिधि समाज ‘वर्दीबिनाको प्रहरी’का रूपमा समाज र सुरक्षा निकायबीच सेतुको भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताए।
उनले पर्यटकीय राजधानी पोखराको शान्ति सुरक्षा, सुरक्षित पर्यटन र सकारात्मक छवि प्रवर्द्धनका लागि स्थानीय सरकार, नेपाल प्रहरी, पर्यटक प्रहरी तथा सबै सरोकारवालासँग हातेमालो गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए।
अध्यक्ष लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका पूर्वअध्यक्ष तिलकबहादुर क्षेत्री, सल्लाहकार भीमप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्याय, महासचिव शिवप्रसाद पौडेललगायतले सुरक्षित समाज निर्माणमा समुदाय र प्रहरीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
Copyright © 2024 | All rights reserved.