साउन ०९, २०८३, शनिबार

अनलाइन ठगी गर्ने भारतीय नागरिकसहितको गिरोह पोखरामा पक्राउ


Advertisement Image
clock icon 1 hour, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्की प्रहरीले अनलाइनमार्फत ठगी गर्ने आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे पोखरा महानगरपालिका-५ प्रस्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर एसिया र युरोपका विभिन्न देशमा घुमाउन लैजाने प्रलोभन देखाई ठगी भइरहेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मारेको थियो।

प्रहरीले सप्तरीको कञ्चनपुर नगरपालिका-१२ निवासी २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर निवासी ३० वर्षीय मोहम्मद यासिर लाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रारम्भिक अनुसन्धानका अनुसार उनीहरूले ओएसिस टुरिजम इन्टरनेसनल नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई परिचालन गरेका थिए। उनीहरूले अनलाइन तथा टेलिफोनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी तीन रात-चार दिनको भ्रमण कुपन भर्न लगाई निश्चित उपहार पाइने प्रलोभन देखाएर रकम असुल्ने गरेका थिए।

प्रहरीका अनुसार हालसम्म ३० जनालाई एसिया तथा युरोपका विभिन्न देशमा भ्रमण गराइदिने भन्दै प्रलोभनमा पारेर ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साथै १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई वैध कामको नाममा अवैधानिक गतिविधिमा संलग्न गराइएको पनि प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले दुई थान कम्प्यूटर तथा मनिटर, आठ थान विभिन्न दर्ता तथा अभिलेख पुस्तिका, छ थान कुपन रसिद, चार थान छाप तथा विभिन्न व्यक्तिको नाममा काटिएका कुपनका अर्धकट्टी बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए।

Copyright © 2024 | All rights reserved.