जेठ २८, २०८३, बिहीबार

आजबाट विश्वकपको महाकुम्भ, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै


Advertisement Image
clock icon 3 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा शुरू हुँदैछ। उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। मेक्सिको सिटीस्थित ऐतिहासिक रङ्गशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ बजे शुरू हुनेछ।

यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना भइरहेको छ। पहिलोपटक ४८ टोली सहभागी रहेको प्रतियोगितामा कुल १०४ खेल हुनेछन्। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरमा हुने प्रतियोगिता एक महिनाभन्दा बढी समयसम्म चल्नेछ।

घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी शुरुआतको लक्ष्यमा छ। उद्घाटन खेलले सन् २०१० को विश्वकपको पहिलो खेलको सम्झना पनि गराउनेछ। दक्षिण अफ्रिकामा भएको त्यस संस्करणको उद्घाटन खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले अग्रता लिए पनि मेक्सिकोका कप्तान राफायल मार्केजको गोलसँगै खेल १–१ को बराबरीमा टुङ्गिएको थियो।

यसपटक मार्केज खेलाडीका रूपमा नभई मेक्सिकोका मुख्य प्रशिक्षक जाभियर अगुइरेका सहायक प्रशिक्षकका रूपमा टोलीसँग रहनेछन्। प्रशिक्षक अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु खेलाडीका लागि ठूलो प्रेरणाको विषय भएको बताउँदै टोली पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनले विश्वकपमा आफ्नै समर्थकसामु खेल्नु फुटबल जीवनकै विशेष क्षण भएको उल्लेख गरे।

अफ्रिकी छनोटको समूह ‘सी’ विजेता दक्षिण अफ्रिका पनि उद्घाटन खेलमा प्रभावशाली प्रदर्शन गर्ने लक्ष्यमा छ। टोलीका प्रशिक्षक हुगो ब्रुसले मेक्सिको बलियो प्रतिद्वन्द्वी भए पनि आफ्ना खेलाडी अन्तिम मिनेटसम्म संघर्ष गर्न तयार रहेको बताए।

दक्षिण अफ्रिकाका मिडफिल्डर टेबोहो मोक्वेनाले उद्घाटन खेलप्रति टोली उत्साहित रहेको र समर्थकलाई सुखद नतिजा दिने लक्ष्य रहेको प्रतिक्रिया दिएका छन्। टोलीका लेफ्ट-ब्याक अउब्रे मोडिबा चोटमुक्त हुँदै खेल्न तयार भएको समाचारले पनि दक्षिण अफ्रिकालाई थप उत्साह दिएको छ।

उद्घाटन खेलमा मेक्सिको घरेलु मैदानको फाइदा उठाउँदै विजयी शुरुआत गर्ने प्रयासमा हुनेछ भने दक्षिण अफ्रिका प्रतियोगिताको पहिलो खेलमै अप्रत्याशित नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ। भरिभराउ रङ्गशाला र विश्वभरका करोडौँ दर्शकमाझ आज मेक्सिको सिटीबाट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको औपचारिक पर्दा उठ्दैछ।

Copyright © 2024 | All rights reserved.