जेठ २८, २०८३, बिहीबार

पचभैयामा कार दुर्घटना, पूर्व बैंकर थापाको निधन


Advertisement Image
clock icon 2 hours, 7 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पूर्व बैंकर रेशमबहादुर थापाको सडक दुर्घटनामा निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार साँझ बेगनास-भोर्लेटार सडकखण्ड अन्तर्गत पचभैयामा उनले चलाएको बा १३ च ४२०९ नम्बरको कार दुर्घटनामा परेको हो। दुर्घटना साँझ ६ः२५ बजे भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल मोहरियास्थित सामुदायिक अस्पताल पुर्‍याइएको थियो।

उपचारका क्रममा चिकित्सकले साँझ ७ः१५ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

प्रहरीका अनुसार कारमा थापा एक्लै सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थापा गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृतका रूपमा परिचित थिए। मिजासिला र मिलनसार व्यक्तित्वका रूपमा चिनिएका उनी विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा समेत सक्रिय थिए।

थापाको परिवार यसअघि पनि दुर्घटनाको पीडाबाट गुज्रिएको थियो। उनका दुई छोरामध्ये जेठा छोराको केही वर्षअघि काठमाडौंमा भएको सडक दुर्घटनामा निधन भएको थियो।

थापाको असामयिक निधनले बैंकिङ क्षेत्रसँगै पोखराको सामाजिक वृत्तमा शोक छाएको छ।

Copyright © 2024 | All rights reserved.