जेठ २९, २०८३, शुक्रबार

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमा मेक्सिकोकाे सुखद् सुरुवात


Advertisement Image
clock icon 2 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। आयोजक राष्ट्र मेक्सिकोले फिफा विश्वकप-२०२६ मा विजयी शुरूआत गरेको छ। शुक्रबार राति भएको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलले पराजित गर्दै मेक्सिकोले प्रतियोगितामा सुखद् शुरूआत गरेको हो।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको समूह ‘ए’ को खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले १-१ गोल गरे।

खेलको नवौं मिनेटमा क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। उक्त गोल विश्वकप २०२६ को पहिलो गोलसमेत बनेको थियो।

दोस्रो हाफमा अनुभवी स्ट्राइकर राउल जिमेनेजले आकर्षक गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे र टोलीको जित सुनिश्चित गरे।

घरेलु समर्थकको उत्साहपूर्ण साथ पाएको मेक्सिकोले उद्घाटन खेलमै प्रभावशाली प्रदर्शन गर्दै तीन अंकसहित विश्वकप यात्राको सफल शुरूआत गरेको छ।

उद्घाटन खेलमै कार्डको वर्षा, तीन रातो र तीन पहेँलो कार्ड

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै कार्डको वर्षा भएको छ। आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीचको समूह ‘ए’ खेलमा रेफ्रीले तीन रातो र तीन पहेँलो कार्ड देखाएका छन्।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा भएको खेलमा दक्षिण अफ्रिकाले दुई तथा मेक्सिकोले एक खेलाडी गुमाएको हो।

दुई रातो कार्डपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित रह्यो भने मेक्सिकोले पनि एक खेलाडी गुमाउँदै १० खेलाडीका साथ खेल टुंग्याएको थियो।

दक्षिण अफ्रिकाका याया सिथो रातो कार्ड पाउने पहिलो खेलाडी बने। मेक्सिकोका ब्रायन गुटिएरेजलाई गोल गर्ने स्पष्ट अवसरबाट वञ्चित गराएको ठहर गर्दै रेफ्रीले उनलाई सिधै मैदान बाहिर पठाएका थिए।

त्यसपछि दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले खेलको ८४औँ मिनेटमा भीएआरको समीक्षापछि विपक्षी खेलाडीमाथि हात प्रहार गरेको ठहर गर्दै सिधा रातो कार्ड पाए।

इन्जुरी समयको पहिलो मिनेटमा मेक्सिकोका सेजार मोन्टेजले पनि गोल गर्ने स्पष्ट अवसर रोकेको भन्दै सिधा रातो कार्ड पाए।

कार्डको श्रृंखला यतिमै रोकिएन। खेलमा तीन खेलाडीले पहेँलो कार्ड पनि पाए। दक्षिण अफ्रिकाका तेबोहो मोकोएना र एनकोसिनाथी सिबिसी तथा मेक्सिकोका ब्रायन गुटिएरेजले पहेँलो कार्ड पाएका थिए।

उद्घाटन खेलमा गोलभन्दा कार्डको चर्चा बढी रह्यो। कडा रेफ्री निर्णय र भीएआरको प्रयोगका कारण खेल अत्यन्तै तनावपूर्ण र प्रतिस्पर्धात्मक बनेको थियो।

Copyright © 2024 | All rights reserved.