जेठ २९, २०८३, शुक्रबार

विश्वकपमा दक्षिण कोरियाद्वारा चेक गणतन्त्र २-१ ले पराजित


Advertisement Image
clock icon 3 hours, 10 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रलाई २-१ ले पराजित गरेको छ।

शुक्रबार भएको प्रतिस्पर्धामा एक गोलले पछि परेको अवस्थाबाट दक्षिण कोरियाले लगातार दुई गोल गर्दै महत्वपूर्ण जित निकालेको हो।

चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेज्चीले ५९औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, दक्षिण कोरियाले ६७औँ मिनेटमा ह्वाङ इन-बोमको गोलबाट खेल बराबरीमा ल्यायो। त्यसपछि ८०औँ मिनेटमा ओह ह्योन-ग्युले विजयी गोल गर्दै टोलीलाई २-१ को जित दिलाए।

खेलको दोस्रो हाफमा चेक गणतन्त्रले अर्को गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएको थिएन। त्यसको फाइदा उठाउँदै दक्षिण कोरियाले पुनरागमन पूरा गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरियाले अधिकांश समय बलमाथि नियन्त्रण राख्दै लगातार आक्रमण बुनेको थियो।

दोस्रो हाफमा एक गोलले पछि परे पनि टोलीले धैर्यता कायम राख्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यस जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ।

यसअघि गएराति भएको खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी शुरूआत गरेको थियो।

Copyright © 2024 | All rights reserved.