असार १४, २०८३, आइतबार

रोपाइँ महोत्सवमा पोखराका दुई कृषक सम्मानित


Advertisement Image
clock icon 2 hours, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। पोखरा महानगरपालिकाले रोपाइँ महोत्सवको अवसरमा दुई जना कृषकलाई ‘महानगर उत्कृष्ट कृषक सम्मान’ प्रदान गरेको छ।

सम्मानित हुनेमा पोखरा-२१ स्थित कृस्ती हिल कृषि तथा पशुपालन फार्मका सञ्चालक ज्ञानबहादुर कार्की र पोखरा-२७ स्थित हेब्रोन लाइभ स्टक फार्मका सञ्चालक कमला पाल्पाली खड्का रहेका छन्।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगदसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

कृषक कार्कीले ६५ रोपनी क्षेत्रफलमा मकै, तरबुजा, विभिन्न प्रकारका तरकारी बाली तथा पशुपालन गर्दै व्यावसायिक कृषि सञ्चालन गरिरहेका छन्।

त्यसैगरी कृषक खड्काले सञ्चालन गरेको हेब्रोन लाइभ स्टक फार्म आधुनिक तथा वैज्ञानिक प्रविधिमा आधारित नमुना दुग्ध उत्पादन केन्द्रका रूपमा परिचित छ।

परम्परागत पशुपालनलाई प्रतिस्थापन गर्दै व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी पशुपालन प्रणाली विकास गर्ने उद्देश्यले सञ्चालित उक्त फार्मले जैविक सुरक्षा, दिगो कृषि, स्थानीय दुग्ध आपूर्ति र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याएको महानगरले जनाएको छ।

३२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा उन्नत घाँस खेती, आधुनिक गोठ, दूध दुहुने विशेष कक्ष, दाना भण्डारण गृह, मल तथा जैविक फोहोर व्यवस्थापन संरचना र प्रशासनिक भवन निर्माण गरिएको छ।

कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कृषिको आधुनिकीकरण, व्यवसायीकरण तथा कृषकहरूको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउँदै उत्पादनमुखी कृषिलाई थप प्रवर्द्धन गरिने बताए।

Copyright © 2024 | All rights reserved.