असार २५, २०८३, बिहीबार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेद्वारी घोषणा


Advertisement Image
clock icon 2 hours, 3 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले संघको आगामी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।

संघको कार्यसमिति बैठकले ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते गर्ने निर्णय गरेसँगै गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै उद्योगी–व्यवसायीको साथ र समर्थनको अपिल गरेकी हुन्।

उम्मेदवारी घोषणासँगै जारी गरेको सन्देशमा गौतमले आफ्नो संस्थागत यात्रा विभिन्न उपसमितिबाट सुरु भएर कार्यसमिति सदस्य, उपमहासचिव हुँदै पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला महासचिवसम्म पुगेको उल्लेख गरेकी छन्।

उक्त अवसर उद्योगी–व्यवसायीले आफूलाई गरेको विश्वास, साथ र हौसलाको परिणाम भएको भन्दै उनले सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गरेकी छन्।

‘पदभन्दा काम ठूलो हुन्छ’ भन्ने मान्यताका साथ आफूले जिम्मेवारीलाई सेवाका रूपमा निर्वाह गर्दै आएको उल्लेख गर्दै गौतमले इमानदारी, पारदर्शिता, उत्तरदायित्व र समर्पणका साथ संस्थाको हितमा काम गरेको दाबी गरेकी छन्।

पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै पनि महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर नपाएको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा पनि अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको साझा अभियान भएको बताएकी छन्।

अध्यक्षमा निर्वाचित भए संघलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले उद्योग, व्यापार, पर्यटन र लगानी प्रवद्र्धनका साथै व्यवसायीका हकहितका पक्षमा प्रभावकारी ढंगले काम गर्ने विश्वास दिलाएकी छन्।

गौतमले केही समयभित्रै आफ्नो सक्षम र समावेशी टिमसहित औपचारिक रूपमा चुनावी अभियान सार्वजनिक गर्दै साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजना पनि सार्वजनिक गर्ने जानकारी दिएकी छन्।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते हुँदैछ।

Copyright © 2024 | All rights reserved.