0
प्रतिक्रिया
पोखरा । कपडा व्यवसायी एशोसिएसन कास्कीका अध्यक्ष लेखनाथ पौडेलले व्यवसायीका समस्या समाधान, संस्थाको सदस्यता विस्तार र व्यवसायीको क्षमता अभिवृद्धिलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन्।
संस्थाको २५औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पौडेलले कपडा व्यवसायीको हकहित संरक्षणसँगै संस्थालाई अझ व्यवस्थित र व्यवसायीमैत्री बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए।
उनले कर तथा वित्तीय सचेतना अभिवृद्धि, व्यवसायिक समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय, अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, ढुवानी भाडामा एकरूपता तथा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई सहुलियत दिलाउने पहल गर्नुपर्ने बताए। संस्थाको स्थायी कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए।
पौडेलले कपडा व्यवसाय व्यवसाय मात्र नभई समाजप्रतिको जिम्मेवारीसमेत भएको बताए।
संस्थाले अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरस्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी वितरण, विद्यार्थीको शैक्षिक अभिभावकत्व तथा सदस्य व्यवसायीका लागि स्वास्थ्य र आँखा परीक्षणमा छुटलगायत सामाजिक कार्य गरेको उनलेजानकारी दिए।
आफ्नो कार्यकालमा सहयोग गर्ने पोखरा उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, लेखनाथ उद्योग वाणिज्य संघ, सरकारी तथा गैरसरकारी निकाय, विभिन्न संघसंस्था, व्यवसायी र सञ्चारकर्मीप्रति पौडेलले आभार व्यक्त गरे।
संस्थाको जिम्मेवारी निर्वाहमा परिवारबाट प्राप्त सहयोगप्रति पनि उनले धन्यवाद दिए।
पौडेलले संस्था सबै व्यवसायीको साझा भएकाले यसको भविष्य निर्माणका लागि एकता र सहकार्य आवश्यक रहेको बताए। अधिवेशनले संस्थालाई नयाँ ऊर्जा, सोच र सशक्त नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले व्यवसायीको एकता अझ मजबुत बनाउन आग्रह गरे।
Copyright © 2024 | All rights reserved.