0
प्रतिक्रिया
पोखरा। कपडा व्यवसायी समिति कास्कीको २५औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशन शनिबार पोखरामा सम्पन्न हुँदैछ।
व्यवसायीको हकहित, संस्थागत सुदृढीकरण र आगामी कार्यदिशासँगै नयाँ नेतृत्व चयन गर्ने भएकाले अधिवेशनलाई महत्वका साथ हेरिएको छ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद पञ्चराम गुरुङले कपडा व्यवसाय हजारौँ व्यक्तिको रोजगारीसँग जोडिएको क्षेत्र भएकाले सरकारले व्यवसायीलाई कर उठाउने दृष्टिले मात्रै नहेरी व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्ने बताए।
सरकार र व्यवसायी एकअर्काका परिपूरक भएकाले समस्या समाधानका लागि दुवै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
समितिका अध्यक्ष लेखनाथ पौडेलले व्यवसायीका समस्या समाधान, सदस्यता विस्तार, क्षमता अभिवृद्धि, कर तथा वित्तीय सचेतना र सम्बन्धित निकायसँग प्रभावकारी समन्वयलाई प्राथमिकता दिनुपर्ने बताए।
अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण, ढुवानी भाडामा एकरूपता, बैंक तथा वित्तीय संस्थाबाट सहुलियतको पहल र समितिको स्थायी कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्रका संस्थाबीच सहकार्य र एकता आवश्यक रहेको बताइन्।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमाराज बास्तोलाले व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले बदलिँदो बजार र प्रतिस्पर्धाअनुसार व्यवसायीले नयाँ सोच र प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताइन्।
कपडा व्यवसायी एशोसिएसन कास्कीका निवर्तमान अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष जनकराज पराजुली, वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, महासचिव पूर्णबहादुर थापा, सदस्य प्रतीक भुजेल, पत्रकार अनिशा श्रेष्ठलगायतले पनि व्यवसायीका समस्या, संस्थाको आगामी कार्यदिशा र एकताको आवश्यकताबारे धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार अनिशा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।
यस्तै, लामो समयदेखि कपडा व्यवसायमा योगदान पुर्याएका पुराना व्यवसायी सत्यनारायण खेतान तथा उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो।
कपडा व्यवसायी समिति कास्कीले व्यवसायीको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कामलाई समेत निरन्तरता दिँदै आएको छ।
समितिले अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरस्थित लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी वितरण, शैक्षिक अभिभावकत्व तथा सदस्य व्यवसायीका लागि स्वास्थ्य र आँखा परीक्षणमा छुटलगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै व्यवसायीका समस्या समाधान र संस्थालाई थप व्यवस्थित तथा व्यवसायीमैत्री बनाउने आगामी कार्ययोजना तय गर्ने भएकाले यसलाई कास्कीका कपडा व्यवसायीबीच विशेष महत्वका साथ हेरिएको छ।
Copyright © 2024 | All rights reserved.