साउन ३०, २०८३, शनिबार

कपडा व्यवसायीलाई कर मात्रै होइन, व्यवसाय सहज हुने वातावरण बनाउनुपर्छ : पूर्वमन्त्री गुरुङ


Advertisement Image
clock icon 1 hour, 55 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ। गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद पञ्चराम गुरुङले कपडा व्यवसाय हजारौँ व्यक्तिको रोजगारीसँग जोडिएकाले सरकारले व्यवसायीलाई कर र राजस्व उठाउने दृष्टिले मात्र हेर्न नहुने बताएका छन्।

कपडा व्यवसायी एशोसिएसन कास्कीको २५औँ साधारण सभा तथा १३औँ अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले व्यवसायी र सरकार एकअर्काका परिपूरक भएको बताए।

व्यवसाय राम्रोसँग सञ्चालन हुँदा रोजगारी सिर्जना हुनुका साथै राज्यलाई कर उठाउन र अर्थतन्त्र चलायमान बनाउनसमेत सहज हुने उनको भनाइ थियो।

उनले व्यवसायीले सरकारका कमजोरीको गुनासो गर्ने र सरकारले पनि व्यवसायीप्रति गुनासो गर्ने प्रवृत्तिभन्दा दुवै पक्षले समस्या समाधानका लागि सहकार्य गर्नुपर्ने बताए।

सरकारले व्यवसायीबाट कर र राजस्व उठाउने मात्रै नभई व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

नेपालमा विगतका कमजोरी र राजनीतिक विषयमा बढी बहस हुने तर भविष्यको मार्गचित्र र कार्ययोजनाबारे पर्याप्त छलफल हुन नसकेको गुरुङले बताए।

विगतबाट पाठ सिक्दै अब देशको आर्थिक विकास र व्यवसाय प्रवर्द्धनमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

गुरुङले कपडा व्यवसायीका समस्या समाधानका लागि आफू सरकारसमक्ष आवाज उठाउन तयार रहेको बताए।

व्यवसायीको हितमा आवश्यक सहयोग गर्न आफू जुनसुकै ठाउँमा उपस्थित हुन तयार रहेको उल्लेख गर्दै उनले एशोसिएसनको नयाँ नेतृत्वले नयाँ कार्यक्रम, उद्देश्य र योजनासहित अघि बढ्ने विश्वास व्यक्त गरे।

अधिवेशनमा बाल कलाकारलाई सम्मान गरिएकोप्रति खुसी व्यक्त गर्दै गुरुङले उनीहरू भविष्यका नेता र देश हाँक्ने जनशक्ति भएको बताए।

बाल प्रतिभालाई प्रोत्साहन र सम्मान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

Copyright © 2024 | All rights reserved.