0
प्रतिक्रिया
पोखरा । हाल जल तथा मौसम विज्ञान विभाग ले दिएको जानकारी अनुसार नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशभर मौसम बदली भएको छ।
अहिले कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश मा पूर्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ भने गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिकदेखि साधारण बदली देखिएको छ।
दिउँसो सुदूरपश्चिमको तराई क्षेत्र बाहेक देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा बदली रहने पूर्वानुमान छ।
कोशी, बागमती र गण्डकीका केही स्थानसँगै मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना औंल्याइएको छ।
रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बदली कायमै रहनेछ भने यी क्षेत्रका केही स्थान र लुम्बिनी तथा कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा तथा हिमपात हुन सक्ने देखिएको छ।
अन्य क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
हावाहुरी, चट्याङ्ग र असिनाका कारण जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
Copyright © 2024 | All rights reserved.