साउन १५, २०८३, शुक्रबार

हरित पोखराका लागि रोटरीको अग्रसरता, ११०० बिरुवा रोप्ने अभियान शुरू


Advertisement Image
clock icon 1 hour, 40 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत पोखरामा क्रियाशील विभिन्न रोटरी क्लबहरूको संयुक्त आयोजनामा पोखरा–१४ बाच्छेबुढुवास्थित पुष्करणी परोपकार गोकुलधाममा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत पोखरामा करिब एक हजार १०० बिरुवा रोप्ने लक्ष्यसहित अभियान शुरू गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि पुष्करणी परोपकार गोकुलधामका संरक्षक तथा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले वृक्षरोपणको धार्मिक, सामाजिक तथा वातावरणीय महत्त्वबारे प्रकाश पार्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले वृक्षरोपणलाई औपचारिकतामा मात्र सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र संवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

उद्घाटन समारोहमा रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत डिस्ट्रिक्ट इन्भाइरोन्मेन्ट कमिटीकी को–चेयर विकास अधिकारी, रोटरीयन सङ्गीता शर्मा तिमिल्सिना तथा नवीनराज बरालले जलवायु परिवर्तन न्यूनीकरण, हरित वातावरण निर्माण र वातावरण संरक्षणमा वृक्षरोपणको महत्त्वबारे धारणा राखेका थिए।

रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले गरेका थिए।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा क्यापिटल, अन्नपूर्ण, न्युरोड, भ्याली, फिस्टेल, पोखरा, गण्डकी, मिडटाउन, लेखनाथ, प्याराडाइजलगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ, स्वस्थ र हरित वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Copyright © 2024 | All rights reserved.