0
प्रतिक्रिया
पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खाना पकाउने ग्यास अभाव हुने भन्ने हल्लाको पछि नलाग्न र आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमै भण्डारण नगर्न नगरवासीलाई आग्रह गरेका छन्।
मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जारी गरेको अपिलमा ग्यास अभावको हल्लाका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमै भण्डारण गर्ने प्रवृत्ति बढेको उल्लेख गरेका छन्।
त्यसका कारण सामान्य अवस्थाको तुलनामा ५० हजारभन्दा बढी ग्यास सिलिन्डर बजारमा फिर्ता नआएको जानकारी प्राप्त भएको र यसले कृत्रिम अभावको अवस्था सिर्जना गरेको बताएका छन्।
उनले सम्पूर्ण नगरवासीलाई आवश्यकताअनुसार मात्र ग्यास खरिद र प्रयोग गर्न आग्रह गर्दै ग्यास विक्रेतालाई पनि कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ताको समस्याको अनुचित फाइदा नउठाउन चेतावनी दिएका छन्।
मेयर आचार्यका अनुसार पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्ति तथा बिक्री वितरणको नियमित अनुगमन गरिरहेका छन्।
कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा अनुचित मौज्दात गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने उनले स्पष्ट पारे।
उनले अफवाहमा नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा संकटको बहाना बनाएर अवसरको दुरुपयोग गर्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्न पनि आग्रह गरेका छन्।
Copyright © 2024 | All rights reserved.