बैशाख २६, २०८३, शनिबार

विश्व बैङ्कको टोलीद्वारा पोखराका सडक परियोजनाको स्थलगत निरीक्षण


Advertisement Image
clock icon 1 day, 14 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। विकास साझेदार विश्व बैङ्कको आर्थिक सहयोगमा पोखरामा सञ्चालित सडक पूर्वाधार परियोजनाहरूको विश्व बैङ्कका भाइस प्रेसिडेन्ट एवं चिफ रिस्क अफिसर डेनिस म्याकलघलिन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ । निरीक्षणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि सहभागी थिए ।

टोलीले तालचोक–बेगनास सडक, शिशुवा-खुँदीखोला सडक तथा कालिकास्थान-पुँडीटार–लामगादी सडक खण्डको अवलोकन गरेको हो ।

नेपाल सरकार, शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको समन्वय तथा विश्व बैङ्कको आर्थिक सहयोगमा तालचोक-बेगनास सडक खण्डको ३.२८ किलोमिटर, शिशुवादेखि खुँदीखोला पुलसम्म करिब ४.१४ किलोमिटर तथा कालिकास्थानदेखि लामगादीसम्म १२ किलोमिटर सडक निर्माण भइरहेको छ ।

तीमध्ये शिशुवादेखि खुँदीखोला पुलसम्मको सडक ३४ करोड ११ लाख २० हजार २९५ रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको छ । उक्त सडकमा दायाँबायाँ नालीसहित १५ मिटर डबल लेन, ७ मिटर सर्भिस लेन, १.५ मिटर साइकल ट्र्याक र २.५ मिटर फुटपाथ निर्माण गरिएको छ ।

दोबिल्ला-बागमारा-तिक्लाङ-बडहरकोट-लामगादी-चापलाङ-उपल्लो पुँडीटार–तल्लो पुँडीटार-झिगटे-तल्लो गगनगौंडा सडक अन्तर्गत पर्ने कालिकास्थान-लामगादी सडक खण्ड पनि निर्माण सम्पन्न भएको छ ।

विश्व बैङ्कको ७७ करोड ६८ लाख ९२ हजार ८३७ रुपैयाँ सहयोगमा ७ मिटर चौडाइको अस्फाल्ट पिच सडक, दायाँबायाँ ड्रेन तथा दुई/दुई मिटरका फुटपाथ निर्माण गरिएको छ ।

तालचोक–बेगनास सडक भने निर्माण सम्पन्न हुने चरणमा रहेको छ । हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको उक्त सडकमा पाँच वटा कल्भर्ट तथा पुल निर्माण भएका छन् ।

सडकको बीचमा १.५ मिटर डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ क्षेत्र, १ मिटर हरियाली क्षेत्र, २ मिटर फुटपाथ तथा ४ सेन्टिमिटर मोटाइको अस्फाल्ट पिच निर्माण गरिनेछ । यस परियोजनामा विश्व बैङ्कले ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ सहयोग गरेको छ ।

नगर प्रमुख आचार्यले विश्व बैङ्कको सहयोगमा सञ्चालित परियोजनाहरू सम्पन्न हुने चरणमा पुगेको उल्लेख गर्दै आगामी दिनमा थप परियोजनाका लागि सहकार्य गर्न पोखरा महानगरपालिका इच्छुक रहेको बताए ।

उनले खुँदीखोलादेखि रुपा गाउँपालिकाको सीमासम्म सडक स्तरोन्नतिका लागि थप बजेट व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए । त्यसमा विश्व बैङ्कका चिफ रिस्क अफिसर डेनिसले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अवलोकनमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा नं. २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, वडा नं. ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, आर्थिक प्रशासन महाशाखा प्रमुख जयराज पौडेल, परियोजना निर्देशक लिला खतिवडा, इन्जिनियर नवीन गौतमलगायत सहभागी थिए ।

विश्व बैङ्कको टोलीमा लारिसा लुये, अमिर अहमेद, प्याट्रिक जोयल, अभिषेक सिंह, अमेना राज, वसन्त पौडेल, छिमेला रोसियो, ग्लोरिया मालिया, रेखा श्रीस र एन्जिला मिश्र महर्जनलगायतको सहभागिता रहेको थियो ।

Copyright © 2024 | All rights reserved.