बैशाख २६, २०८३, शनिबार

होटल प्रतिनिधि समाजद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग, समाजसेवामा निरन्तर प्रतिबद्धता


Advertisement Image
clock icon 11 hours, 44 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । होटल प्रतिनिधि समाज पोखराले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम हेम्जामा निर्माणाधीन मुक्तिनाथ सेवा आश्रम धर्मशाला निर्माणका लागि आर्थिक सहयोग गरेको छ। समाजले श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आयोजित कार्यक्रममा रु १५ हजार ५१५ सहयोग हस्तान्तरण गरेको हो।

संस्थाका पदाधिकारीहरूले आफ्नो व्यक्तिगत योगदानमार्फत संकलन गरिएको रकम सामाजिक कार्यका लागि उपयोग गरिएको बताएका छन्।

होटल प्रतिनिधि समाज पोखराले विगतदेखि नै विभिन्न कालखण्डमा दिवंगत भएका आफ्ना साथीहरूको आत्मशान्तिका लागि समेत नियमित रूपमा समाजसेवामूलक गतिविधि गर्दै आएको जनाएको छ।

कार्यक्रममा अध्यक्ष माधव लम्साल, वरिष्ठ उपाध्यक्ष जिवराज उपाध्याय, प्रथम उपाध्यक्ष निरज अधिकारी, महासचिव शिव पौडेल, कोषाध्यक्ष डीकबहादुर डाँगी, सहकोषाध्यक्ष हरि ढकाल, निवर्तमान अध्यक्ष सन्तु चौधरी, पूर्वसचिव शिवहरि अर्याललगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उनीहरूले आआफ्नो तर्फबाट पनि पवित्र कार्यका लागि आर्थिक योगदान गरेका थिए।

अध्यक्ष लम्सालले सहयोग रकम हस्तान्तरण गर्दै संस्थाले गरेको योगदान ठूलो नभए पनि “एउटा इँटा थप्ने प्रयास” भएको बताएका छन्। उनले होटल प्रतिनिधि समाज मानव सेवा र सामाजिक उत्तरदायित्वमा निरन्तर अग्रसर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कार्यक्रमको संयोजन महिला सञ्जाल बैदामकी अध्यक्ष बबिता मल्ल र पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले गरेका थिए।

कार्यक्रममा उपस्थित सहभागीहरूलाई आयोजक संस्थाले खादा, माला र प्रमाणपत्रसहित सम्मानसमेत गरेको थियो।

समाजसेवाका नाममा ससाना तर निरन्तर योगदान गर्ने अभ्यासले स्थानीयस्तरमा परोपकारी अभियानलाई बल पुर्‍याउने अपेक्षा गरिएको छ।

Copyright © 2024 | All rights reserved.