जेठ ०२, २०८३, शनिबार

अमेरिकामाथि नेपालको शानदार जित


Advertisement Image
clock icon 1 hour, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । कुशल भुर्तेलको उत्कृष्ट शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकालाई ९ विकेटले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमै १ सय ९९ रन बनाउँदै सहज जित हात पारेको हो ।

नेपालका लागि कुशल भुर्तेल ले अविजित १२० रनको दमदार इनिङ्स खेले । ११८ बलको सामना गरेका उनले १३ चौका र ४ छक्का प्रहार गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको दोस्रो शतक पूरा गरे । यसअघि उनले सन् २०२३ मा नामिबियाविरुद्ध पनि कीर्तिपुरमै शतक प्रहार गरेका थिए ।

भुर्तेलले आसिफ शेख सँग पहिलो विकेटका लागि १ सय ४५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितको मजबुत आधार दिलाए । आसिफ ५८ रन बनाएर आउट भए भने डेब्यु गरेका इशान पाण्डे २० रनमा अविजित रहे ।

यस जितसँगै लिग-२ को २०२४-२७ चक्रमा नेपालले अमेरिकामाथि पहिलो सफलता हात पारेको हो । यसअघि यस संस्करणमा अमेरिका अपराजित रहेको थियो भने २०२३ को विश्वकप छनोटपछि नेपालले पहिलो पटक अमेरिकालाई हराएको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १ सय ९५ रनमा अलआउट भएको थियो । एक समय बलियो अवस्थामा देखिएको अमेरिकी टोली अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदै सस्तोमा समेटिएको हो ।

अमेरिकाका स्मित पटेलले ८९ रन र सेहन जयसुर्याले ५० रन बनाए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी ले घातक बलिङ गर्दै ४ विकेट लिए भने सोमपाल कामी ले २ विकेट हात पारे । सन्दीप लामिछाने र गुलशन झाले समान १–१ विकेट लिए ।

दीपेन्द्रले यस खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको कोशेढुंगा पूरा गरेका छन् । नेपालले फिल्डिङमा पनि उच्चस्तरीय प्रदर्शन गर्दै महत्वपूर्ण क्याच र रनआउटमार्फत खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

लिग–२ अंकतालिकामा नेपाल २६ खेलबाट २० अंकसहित सातौं स्थानमा यथावत छ भने अमेरिका समान खेलबाट दोस्रो स्थानमा छ ।

Copyright © 2024 | All rights reserved.