0
प्रतिक्रिया
पोखरा। नेपाल र रसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा नेपालस्थित रसियन दूतावासकी काउन्सिलर तथा काठमाडौँस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
पोखरामा भएको भेटमा पोखरा र रसियाका नगरबीच भगिनी सम्बन्ध कायम गर्दै द्विपक्षीय हित तथा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
विशेषगरी पर्यटन, सूचना प्रविधि, स्थानीय उत्पादन तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाबारे छलफल गरिएको हो।
भेटका क्रममा पोखराको पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने, सूचना प्रविधिको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्ने र दुवै देशका नगरबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा जोड दिइएको थियो।
महानगर प्रमुख आचार्यले पोखरा र रसियाका नगरबीच भगिनी सम्बन्ध कायम गरी पर्यटन, संस्कृति, प्रविधि तथा स्थानीय उत्पादनका क्षेत्रमा दीर्घकालीन सहकार्य अघि बढाउन सकिने बताएका छन्।
यस्तो सहकार्यले दुई देशका स्थानीय तहबीचको सम्बन्ध थप मजबुत बनाउँदै जनस्तरको सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने उनको विश्वास छ।
नेपाल-रसिया कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा भएको भेटलाई दुई देशबीचको सम्बन्ध स्थानीय तहसम्म विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
Copyright © 2024 | All rights reserved.