जेठ ०२, २०८३, शनिबार

लेखनाथमा यातायात व्यवस्था कार्यालय सञ्चालन


Advertisement Image
clock icon 1 hour, 1 minute ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । लेखनाथमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिका–३० पावरहाउसमास्थित साविक सहिद स्मारक आधारभूत विद्यालय रहेको भवनमा स्थापना गरिएको कार्यालयको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे।

उद्घाटन समारोहमा उनले यातायात व्यवसायी झलक बराललाई पटके सवारी अनुमति प्रदान गरे ।

मुख्यमन्त्री पाण्डेले कार्यालय अब लेखनाथबाट अन्यत्र नसरिने स्पष्ट पार्दै स्थानीयलाई ढुक्क रहन आग्रह गरे ।

उनले कार्यालय स्थापना कुनै व्यक्तिगत स्वार्थका आधारमा नभई जनताको सुविधा र आवश्यकतालाई केन्द्रमा राखेर गरिएको दाबी गरे ।

मुख्यमन्त्री पाण्डेले यातायात कार्यालयसँगै ट्राफिक कार्यालयको व्यवस्थापन पनि सरकारले गर्ने बताए।

कार्यालय स्थापना जनताको चाहना र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर दबाबका कारण सम्भव भएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेका बेला लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने निर्णय कार्यान्वयन हुँदा गर्व लागेको बताए ।

उनले आफ्नो कार्यकालको दोस्रो क्याबिनेट बैठकको पहिलो निर्णय नै लेखनाथमा यातायात कार्यालय स्थापना गर्ने रहेको बताए ।

उनले आफ्नो कार्यकालमा शुरू गरिएको निर्णय अहिले कार्यान्वयनको चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे ।

लेखनाथमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि स्थानीयवासीले सेवाका लागि पोखरा वा अन्य स्थान धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

यसले सेवा प्रवाहलाई विकेन्द्रीकृत गर्दै नागरिकको समय र लागत दुवै बचत गर्ने स्थानीयको दाबी छ ।

Copyright © 2024 | All rights reserved.