0
प्रतिक्रिया
पोखरा । चीनको जिजाङ प्रान्तस्थित लिञ्जी सहरबाट पोखरा महानगरपालिकालाई उपहारस्वरूप प्रदान गरिएको करिब तीन करोड ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पोखरा आइपुगेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयको प्रयासपछि अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन इन्सिनेटरलगायतका सामग्री पोखरा ल्याउन सफल भएको बताएका छन् ।
उनका अनुसार २०७९ सालमा महानगर प्रमुखमा निर्वाचित भएपछि चीनको मितेरी सहर लिञ्जीमा आयोजित कार्यक्रममा सहभागी हुँदा उक्त सामग्री पोखरालाई उपहारस्वरूप प्रदान गरिएको थियो ।
पोखराका नागरिकले सहज स्वास्थ्य सेवा पाउन सकून् र दुई सहरबीचको सम्बन्ध अझ प्रगाढ बनोस् भन्ने उद्देश्यसहित सामग्री उपलब्ध गराइएको उनले उल्लेख गरेका छन् ।
तर नेपाल फर्किएको केही समयमै रसुवाको केरुङ नाकामा आइपुगेका ती सामग्री कानुनी तथा भन्सार प्रक्रियाका कारण रोकिएका थिए । त्यतिबेला भन्सार छुटको सीमा १६ लाख रुपैयाँ मात्र रहेकाले करोडौँ मूल्यका सामग्री छुटाउन समस्या भएको आचार्यले बताए ।
उनका अनुसार लगातार तीन वर्षभन्दा बढीको पहलपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँगको छलफल र बजेटमार्फत एम्बुलेन्सको भन्सार छुट सीमा हटाइएपछि प्रक्रिया अगाडि बढेको थियो ।
यसबीच पोखरा महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा सामग्रीसँग सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको पनि उनले बताएका छन् । त्यसपछि मूल्य उल्लेख नगरी सामग्री पुनः मगाइएपछि अहिले ती उपकरण पोखरा आइपुगेका हुन् ।
आचार्यले स्वास्थ्य सामग्री पोखरा महानगरपालिकाको परिसरमा आइपुग्नु उपकरण प्राप्ति मात्र नभई मित्रताको सम्मान, निरन्तर प्रयासको परिणाम र नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति भएको बताए ।
उनले सामग्री नेपाल ल्याउन सहयोग गर्ने नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, भन्सार कार्यालय तथा नेपाल सरकारका उच्च अधिकारीहरूप्रति आभार व्यक्त गरे।
Copyright © 2024 | All rights reserved.