जेठ २५, २०८३, सोमबार

आज बस्दै प्रतिनिधि सभाको बैठक


Advertisement Image
clock icon 2 hours, 47 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। जेठ १९ गते बसेको अघिल्लो बैठक विपक्षी दलहरूको अवरोध र नाराबाजीका कारण स्थगित भएपछि सभामुखले आजका लागि बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले नेपाल-भारत सीमा विवादका विषयमा दिएको अभिव्यक्तिलाई लिएर संसद्मा विवाद चर्किएको छ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि भारतको केही भूमि मिचेको धारणा राखेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले त्यसको तथ्य सार्वजनिक गर्नुपर्ने तथा विनातथ्य अभिव्यक्ति दिएको भए संसद्समक्ष माफी माग्नुपर्ने माग गर्दै आएका छन्। सोही विषयलाई लिएर लगातार अवरोध भएपछि संसद्को बैठक प्रभावित हुँदै आएको छ।

आज विपक्षी दलहरूले अवरोध नगरेमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि सांसदहरूले बजेटमाथि आफ्ना धारणा राख्नेछन् र उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ।

बैठकको व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ तथा नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्दै सदनमा पेस गर्ने कार्यसूची रहेको छ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सन्धि तथा महासन्धिसम्बन्धी कार्यसूचीअन्तर्गत युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) तथा बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नम्बर २९) सदनमा पेस गर्ने कार्यक्रम रहेको छ।

यसबीच आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक पनि बस्दै छ। उक्त बैठकबाट सहमति जुट्न सके संसद्मा देखिएको गतिरोध अन्त्य हुने र प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढ्ने सम्भावना रहेको छ।

Copyright © 2024 | All rights reserved.