0
प्रतिक्रिया
पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न विभिन्न सेवा शुल्कमा उल्लेखनीय सहुलियत दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०८५ साल भदौ मसान्तसम्म लागू हुने गरी दुवै विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो। साथै ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय उडान आकर्षित गर्दै दुवै विमानस्थलको प्रभावकारी सञ्चालन सुनिश्चित गर्न यो निर्णय गरिएको जानकारी दिए। लामो समयदेखि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसकेका यी दुई विमानस्थललाई चलायमान बनाउन सरकारले विशेष सहुलियत नीति अघि सारेको जनाएको छ।
मन्त्रिपरिषद् बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय पनि गरेको छ। साथै गुठी संस्थानको प्रशासकमा शैलेशराज कुँवरलाई नियुक्त गरिएको छ।
यस्तै विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य तथा श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले मिटरब्याज पीडितसँग साउन १ गते भएको सम्झौता अनुमोदन गर्दै मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतलाई आजकै मितिदेखि अवैध घोषणा गरेको छ। साथै आर्थिक ऐन, २०८३ अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।
Copyright © 2024 | All rights reserved.