0
प्रतिक्रिया
पोखरा। महिला सशक्तिकरण, हिंसा विरुद्ध अभियान र सामाजिक सचेतनाका कार्यक्रम गर्दै आएको जोण्टा क्लव अफ पोखराको नेतृत्वमा नयाँ टोली चयन भएको छ।
हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले नेलिसा ठकुरी केसीलाई आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ। सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिसँगै संस्थाको भावी दिशा र प्राथमिकताबारे चासो बढेको छ।
जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्तर्गत एरिया २ मा पर्ने उक्त क्लवले लामो समयदेखि महिला, बालबालिका र वातावरणसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानमा निरन्तर सक्रिय रहँदै आएको यस संस्थाले पोखरामा सामाजिक सचेतनाको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ।
नवनिर्वाचित अध्यक्ष नेलिसा ठकुरी केसी नेतृत्वको पाँच सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी र कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन भएका छन्। निवर्तमान अध्यक्ष रोजिना रञ्जित बिजुक्छेले नयाँ टोलीलाई जिम्मेवारी हस्तान्तरण गरेकी छन्।
त्यस्तै विभिन्न समितिहरूमा मोनिका थापा, अर्चना कर्माचार्य, निलिमा गुरुङ, अन्जना तज्या, लिसा गुरुङ, अनिता केसी भट्टराई, पुनम भट्टराई र साम्राज्ञी क्षेत्री चयन भएका छन्। नेतृत्व संरचना विस्तारसँगै संस्थाको कार्यक्रम दायरा अझ फराकिलो हुने अपेक्षा गरिएको छ।
जोण्टा क्लवले विगतमा महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम, नेतृत्व विकास तालिम, छात्रवृत्ति सहयोग र वातावरण संरक्षण अभियान सञ्चालन गर्दै आएको छ।
स्थानीय तहदेखि राष्ट्रिय अभियानसम्म सहकार्य गर्दै आएको यो संस्थाले महिलाको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरिन्छ।
नयाँ नेतृत्व चयनसँगै अब संस्थाले परम्परागत कार्यक्रमसँगै नविनतम योजना अघि सार्ने संकेत दिएको छ। अध्यक्ष केसीले आगामी दिनमा महिला सशक्तिकरणलाई अझ प्रभावकारी बनाउन नवीन कार्यक्रम ल्याइने बताएकी छन्।
तर नेतृत्व परिवर्तनसँगै संस्थाको आगामी रणनीति, स्रोत व्यवस्थापन र कार्यक्रम विस्तारलाई लिएर सरोकारवालाबीच उत्सुकता बढेको छ।
कतिपयले संस्थाले अझ प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने अपेक्षा राखेका छन् भने केहीले निरन्तरता र पारदर्शितामाथि जोड दिएका छन्।
पोखरामा सामाजिक क्षेत्रमा सक्रिय मानिएको यो संस्थाको नयाँ कार्यसमितिले कस्तो गति लिन्छ भन्ने विषय अबको प्रमुख चासो बनेको छ।
Copyright © 2024 | All rights reserved.