0
प्रतिक्रिया
पोखरा । “जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासहित गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापनसम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकार, नेपाल प्रहरी तथा सरोकारवाला निकायको समन्वयमा भएको गोष्ठीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र समन्वयात्मक ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको छ।
गोष्ठी उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सवारी दुर्घटना न्यूनीकरणलाई प्रदेश सरकारको प्राथमिकता रहेको भन्दै सडक सुरक्षा सुदृढीकरणका लागि निकायबीच समन्वय आवश्यक रहेको बताए।
प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीले ट्राफिक प्रहरीको एक्लो प्रयासले दुर्घटना नियन्त्रण सम्भव नभएको भन्दै सामूहिक जिम्मेवारी आवश्यक रहेको बताएका छन्।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गोष्ठीबाट प्राप्त निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि आवश्यक सहयोग र जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्साल काठमाडौँका प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले ट्राफिक व्यवस्थापनमा जोडिएका विविध बिषयवस्तुहरुमा छलफलको महसुस गरी गोष्ठिको आयोजना भएको बताए ।
दोस्रो सत्रमा ११ जिल्लाका ट्राफिक प्रमुखहरूको प्रस्तुति तथा यातायात कार्यालय र सडक डिभिजनका प्रतिनिधिबाट सवारी चाप, पूर्वाधार र व्यवस्थापनबारे छलफल गरिएको थियो।
सहभागीहरूले सवारी साधनको प्राविधिक परीक्षणका लागि मापदण्ड बनाउने, सडक सुरक्षा अभियान सञ्चालन गर्ने र समन्वय संयन्त्र सुदृढ गर्ने विषयमा सहमति जनाएका छन्। प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ।
कार्यक्रमले गण्डकी प्रदेशमा सुरक्षित, व्यवस्थित र आधुनिक ट्राफिक व्यवस्थापन प्रणाली विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, यातायात व्यवसायी संघ नेपालका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाहीलगायतले सुरक्षित सडक र व्यवस्थित यातायात प्रणाली निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राखेका थिए ।
Copyright © 2024 | All rights reserved.