0
प्रतिक्रिया
पोखरा। इम्ब्रोइडरी एन्ड गार्मेन्ट्स एसोसिएसन पोखराले बागलुङको ढोरपाटन सिकार आरक्षण क्षेत्रमा तीन दिने अध्ययन तथा अवलोकन भ्रमण गरेको छ।
हिमाली क्षेत्रको बदलिँदो ट्रेकिङ संस्कृति, सांस्कृतिक पर्यटन, हिमाली दृश्यावलोकन र वन्यजन्तु अवलोकनका सम्भावना अध्ययन गर्ने उद्देश्यले भ्रमण गरिएको हो ।
४८ सदस्यीय टोलीले ढोरपाटन सिकार आरक्षण क्षेत्रभित्रका विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ।
स्थानीय पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्दै ढोरपाटन र पोखराको लेकसाइड क्षेत्रबीच पर्यटन विकासका सम्भावना, पर्यटन प्रवर्द्धनका उपाय र सहकार्यका विषयमा छलफल समेत गरेको छ ।
एसोसिएसनका अध्यक्ष गोकर्ण लम्सालले भ्रमणका क्रममा ढोरपाटन क्षेत्रको पर्यटन अवस्था, पूर्वाधार र सम्भावनाबारे अध्ययन गरिएको बताए ।
एसोसिएसनकी उपाध्यक्ष गीता ढकालले ढोरपाटनसँगै करिब ४ हजार मिटर उचाइमा रहेको बुकी पाटनको यात्राले फरक अनुभव दिएको बताइन् ।
संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डेले टोलीले ढोरपाटन क्षेत्रमा रहेको उत्तरगंगा नदीको मुहानलगायतका स्थानको अवलोकन गरेको जानकारी दिए ।
भ्रमणका क्रममा सहभागीले हिमाली दृश्य, बुकी अर्थात् उच्च हिमाली घाँसे मैदान, दुर्लभ वन्यजन्तु तथा चराचुरुंगीको अवलोकन गरेका थिए । ट्रेकिङ र प्रकृति पर्यटनका विविध पक्षबारे समेत जानकारी लिएको एसोसिएसनकी सचिव माया सुवेदीले बताइन् ।
अध्ययन टोलीले बागलुङ कालिका मन्दिरमा दर्शन समेत गरेको थियो। टोलीमा एसोसिएसनका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, पदाधिकारी, कार्यसमिति सदस्य, सद्भाव सदस्य तथा संस्थामा आबद्ध अन्य सदस्यको सहभागिता थियो। भ्रमणको संयोजन संस्थाका सदस्य रामकृष्ण तिमिल्सिनाले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.