असार ०३, २०८३, बुधबार

अल्जेरियाविरुद्ध अर्जेन्टिना ३-० ले विजयी


Advertisement Image
clock icon 1 hour, 32 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लयमा देखिएको छ । जारी विश्वकपको पहिलो खेलमा उत्कृष्ट शुरूआत गर्दै अर्जेन्टिना उपाधि दावेदारीमा उत्रिएको हो । 

अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हरायो ।  

अर्जेन्टिनाका लागि कीर्तिमानी खेलाडी लियोनल मेसीले ह्याट्रिक गरे । उनले १७ औँ मिनेटमा पहिलो गोल गरे । उनले रोड्रिगो डे पलको पासमा सुन्दर गोल गरेका हुन् । 

त्यस्तै ६० औँ मिनेटमा मेसीले दोस्रो गोल गरे । त्यस्तै मेसीले ७६ औँ मिनेटमा तेस्रो गोल गरे । निको गोन्जालेजको पासमा मेसीले ह्याट्रिक पूरा गरेका हुन् । ८० औँ मिनेटमा उनले मैदान छाडेका थिए ।

यो मेसीको विश्वकपमा १६ औँ गोल हो । योसँगै मेसी विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीमा गनिएका छन् । जर्मनीका मिरोस्लाभ क्लोजले पनि १६ गोल नै गरेका छन् । 

मेसीले त्यो रेकर्ड पनि तोड्ने निश्चित जस्तै छ । बिहान सेनेगलविरुद्ध दुई गोल गरेर फ्रेन्च खेलाडी केलिएन एम्बाप्पेले १४ गोल पुर्याएका थिए । 

मेसी अल्जेरियाविरुद्ध खेलेर आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेका छन् । उनका लागि अल्जेरिया विरुद्धको खेल २७ औँ विश्वकप खेल हो । ह्यामस्ट्रिङ इन्जुरीबाट रिकभर गरिरहेका मेसीले अल्जेरियाविरुद्ध प्लेइङ मिनेट्स पाएसँगै विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन् ।

अर्जेन्टिना इतिहास रच्ने अभियानमा छ । इटाली र ब्राजिलपछि लगातार विश्वकप जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा अर्जेन्टिना रहेको छ । उता अल्जेरियाको लक्ष्य भनेको आफ्नो इतिहासमै दोस्रोपटक नकआउट चरणमा पुग्ने हुनेछ ।

अमेरिका विश्वकप अर्जेन्टिनाका लागि लगातार १४औँ अनुभव हो। लियानेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा रहँदै उत्तर अमेरिकाको टिकट काटेको थियो। यो यात्रामा अर्जेन्टिनाले चिरप्रतिद्धन्द्धी ब्राजिललाई ४–१ ले हरायो ।

अर्जेन्टिनाले १८ खेलमा कूल ३८ अंक जोडेको थियो । कप्तान लियोनल मेसी आठ गोलसहित उच्च गोलकर्ता बने ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.