0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाको बिहीबार आयोजित १५औँ नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नगरसभामा महानगर प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीका रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने संकल्प व्यक्त गरेका छन् ।
उनले विगत चार वर्षका प्रयासले पर्यटन, पूर्वाधार र विपद् व्यवस्थापनमा उल्लेखनीय उपलब्धि हासिल भएको दाबी गर्दै आगामी वर्ष ती उपलब्धिलाई अझ सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
मेयर आचार्यले फेवाताल संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै सर्वोच्च अदालतको आदेशअनुसार सीमांकन गरी १ हजार पाँच सय पाँच ओटा सीमा स्तम्भ गाडिएको जानकारी दिए ।
पछिल्लो सर्वेक्षणअनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम भएको उल्लेख गर्दै ताल संरक्षणका लागि चेक ड्याम निर्माण र मध्यवर्ती क्षेत्र विकासको प्रक्रिया अघि बढाइएको बताए । फिर्के खोलामा रहेका १६० अवैध संरचना हटाइएको र त्यसलाई हरित, स्वच्छ तथा जीवन्त कोरिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
महानगरलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘डिजिटल पोखरा’ अवधारणा अघि सारिएको छ । घरनक्सा पास, व्यक्तिगत घटना दर्ता, राजस्व भुक्तानी र योजना व्यवस्थापन पूर्ण रूपमा डिजिटल प्रणालीबाट सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए । सेवा प्रवाहलाई पेपरलेस, फेसलेस र क्यासलेस बनाइने नीति पनि समावेश गरिएको छ ।
त्यसैगरी, पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्यसहित पाँच वर्षे नगर ऊर्जा योजना लागू गरिने भएको छ । सन् २०४३ सम्म ९० प्रतिशत सवारी साधन विद्युतीय बनाउने महत्वाकांक्षी लक्ष्य राखिएको छ । ‘नो प्लास्टिक पोखरा’ अभियानमार्फत एक पटक प्रयोग हुने प्लास्टिकलाई पूर्ण रूपमा निषेध गर्ने नीति अघि सारिएको छ ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयमा एआई, रोबोटिक्स र आधुनिक प्रविधि समावेश गरिने भएको छ । ‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत विद्यार्थीलाई उद्यमसँग जोडिनेछ । महिलालाई प्राविधिक शिक्षामा सक्षम बनाउन ‘एक वडाएक महिला प्राविधिक जनशक्ति’ कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्य क्षेत्रमा प्रत्येक संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने, इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली सुरु गर्ने, विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्ने तथा स्वास्थ्य बीमालाई लागत साझेदारी प्रणालीमा लैजाने योजना समावेश गरिएको छ ।
कृषि र पर्यटनलाई समृद्धिको आधारका रूपमा अघि सार्दै बाँझो जग्गामा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरिएको छ । ‘घर फर्क अभियान’ मार्फत कृषि उत्पादन वृद्धि गर्ने, कृषि एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिने तथा ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई भव्य रूपमा सफल बनाउने लक्ष्य राखिएको छ ।
राजस्व प्रणाली सुधारका लागि ट्याक्स म्यापिङ प्रविधि लागू गरिने, विज्ञापन करको दायरा विस्तार गरिने तथा भूमि प्रशासन सेवा महानगरबाटै प्रवाह गरिने नीति अघि सारिएको छ । सार्वजनिक स्थानमा कुकुर खुला छाड्ने प्रवृत्तिमा नियन्त्रण गर्न कानुनी कारबाही गरिने उल्लेख गरिएको छ ।
मेयर आचार्यले विश्व बैंक, एसियाली विकास बैंकलगायत दातृ निकायको सहयोगमा ठूला पूर्वाधार आयोजना अघि बढिरहेको उल्लेख गर्दै सबै नगरवासीको साथ र सहकार्यमा पोखरालाई समृद्ध, हरित र आधुनिक सहर बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.