असार ०८, २०८३, सोमबार

सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


Advertisement Image
clock icon 1 hour, 49 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलका अनुसार उपाध्यक्ष पौडेललाई सोमबार साँझ करिब ६ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउपछि उनलाई काठमाडौँ ल्याउनका लागि स्थलगत मार्गबाट नेपालगञ्जतर्फ लगिएको छ ।

पक्राउका लागि प्रहरी उपरीक्षक पौडेलको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।

उपाध्यक्ष पौडेल एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यक्रमका लागि सुर्खेत पुगेका थिए ।

कार्यक्रम चलिरहेकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ स्थायी घर भएका पौडेल हाल ललितपुर महानगरपालिका-२५ सैँबु आवास क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

पक्राउसँगै मुलुकको प्रमुख राजनीतिक दलका शीर्ष नेतामाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानले नयाँ मोड लिएको छ ।

घटनाबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

Copyright © 2024 | All rights reserved.