असार १७, २०८३, बुधबार

फ्रान्स र नर्वे फिफा विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश


Advertisement Image
clock icon 1 hour, 12 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । फ्रान्स र नर्वे फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बुधबार बिहान सम्पन्न अन्तिम ३२ का खेलमा फ्रान्सले स्वीडेनलाई ३-० तथा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

अमेरिकाको न्यूजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा फ्रान्सलाई सहज जित दिलाउन कप्तान केलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। त्यसपछि ५३औँ मिनेटमा माइकल ओलिसेको पासमा बारकोलाले दोस्रो गोल गरे भने ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको ३-० को जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पे 'प्लेयर अफ द म्याच' घोषित भए।

यस जितसँगै फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले विश्वकपमा प्रशिक्षकका रूपमा १७औँ जित निकाल्दै नयाँ कीर्तिमान पनि कायम गरेका छन्। अब फ्रान्सले प्रिक्वार्टरफाइनलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

यता, अमेरिकाको डालासस्थित रंगशालामा भएको अर्को खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्यो। नर्वेका लागि ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

७४औँ मिनेटमा अमाद डियाल्लोले गोल गर्दै आइभरी कोस्टलाई बराबरीमा ल्याए पनि ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई जित दिलाए।

अब नर्वेले प्रिक्वार्टरफाइनलमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिलले अन्तिम ३२ को खेलमा जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।

Copyright © 2024 | All rights reserved.