0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले नयाँ नेतृत्व पाएको छ। गण्डकी प्रदेश सरकारले प्रतिष्ठानका पदाधिकारी तथा १९ जना प्राज्ञसभा सदस्य नियुक्त गरेसँगै उनीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
प्रतिष्ठानको कुलपतिमा प्रा.डा. कुसुमाकर न्यौपाने नियुक्त भएका छन्। लोकसाहित्यमा विद्यावारिधि गरेका न्यौपाने पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक हुन्। पर्वतको पैयूँ गाउँपालिका स्थायी घर भएका उनी हाल पोखरामा बसोबास गर्दै आएका छन्।
उपकुलपतिमा लोकदोहोरी गायक तथा रचनाकार शंकर विरही गुरुङ नियुक्त भएका छन्। स्याङ्जा स्थायी घर भएका गुरुङ लामो समयदेखि पोखरालाई कर्मथलो बनाउँदै आएका छन्।
सदस्य सचिवमा मनकुमार श्रेष्ठ पुनः नियुक्त भएका छन्। प्रतिष्ठानका संस्थापक सदस्य सचिवसमेत रहेका श्रेष्ठ तनहुँको भानु नगरपालिका-८ स्थायी घर भई हाल पोखरामै क्रियाशील छन्।
प्रदेश सरकारले प्रतिष्ठानका प्राज्ञसभा सदस्यमा रामभक्त जोजिजु, अनुराग अधिकारी, ईन्द्रमान खत्री, प्रा.डा. ईश्वरचन्द्र वाग्ले, कमलप्रसाद पौडेल ‘अथक’, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भुपेन्द्र बानियाँ, रामजीप्रसाद पौडेल, वसन्त अधिकारी, डा. वीरेन्द्र पुडासैनी, शान्ता बास्तोला, सञ्जु महतो थनेत र हरिमाया श्रेष्ठलाई मनोनयन गरेको छ।
नवनियुक्त पदाधिकारी तथा प्राज्ञसभा सदस्यहरूले सपथ ग्रहणसँगै आफ्नो कार्यभार सम्हालेका छन्। उनीहरूले गण्डकी प्रदेशको भाषा, साहित्य, कला, संस्कृति, लोकपरम्परा तथा अनुसन्धानको संरक्षण, संवर्द्धन र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
Copyright © 2024 | All rights reserved.