0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ र १९ को सिमानास्थित तल्लो गोस्तेघाटमा निर्माण सम्पन्न ‘शिवधाम’को आज विधिवत् उद्घाटन गरिएको छ।
करिब २ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको शिवधाम धार्मिक आस्था, सांस्कृतिक संरक्षण, वातावरणीय सन्तुलन तथा सामाजिक सेवाको केन्द्रका रूपमा विकास गरिएको हो।
धाममा आधुनिक र व्यवस्थित अन्त्येष्टि स्थल, चार दर्जनभन्दा बढी वर, पिपल तथा स्वामीसहित पञ्चपल्लव रोपिएका बुटिक, विशाल चौतारी, १०८ शिवलिङ्ग, नन्दीसहित भगवान् शिवको विशाल मूर्ति, विश्रामगृह तथा दुई दर्जनभन्दा बढी आराम कुर्सी निर्माण गरिएको छ। आगामी चरणमा यहाँ १०८ जलधारा निर्माण गर्ने योजना समेत अघि सारिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिले १०८ जलधारामध्ये पहिलो जलधारा निर्माण गर्ने जिम्मेवारी व्यक्तिगत रूपमा लिने घोषणा गर्दै यस अभियानसँग जोडिन पाउँदा गौरव र खुसी लागेको बताए।
उनले शिवधामले आगामी दिनमा पोखराको उत्तरी क्षेत्रका नागरिकका लागि धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण, वातावरणीय प्रवर्द्धन तथा सामाजिक सेवाको महत्वपूर्ण केन्द्रका रूपमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा शिवधाम निर्माणको सफलता जनसहभागिताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै स्थानीय समुदायको सहयोग, समर्पण र एकताले अभियानलाई सफल बनाएको बताइयो।
यस अवसरमा आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण दाताहरू, निर्माण तथा व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, पोखरा महानगरपालिका वडा नं. १६ र १९ का वडा अध्यक्ष, जनप्रतिनिधि, वडा परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको थियो।
Copyright © 2024 | All rights reserved.