0
प्रतिक्रिया
पोखरा । कास्की प्रहरीले पोखरामा ठूलो परिमाणमा लागुऔषधसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लागुऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-३२ मझुवामा तनहुँबाट पोखरातर्फ आउँदै गरेको कार चेकजाँचका क्रममा लागुऔषध बरामद भएको हो।
प्रहरीले कारको विभिन्न भागमा लुकाइछिपाइ राखिएको डाइजापाम छ सय एम्पुल, फेनरागन छ सय ४८ एम्पुल र बुप्रिनोर्फिन छ सय एम्पुल गरी कुल एक हजार आठ सय ४८ एम्पुल बरामद गरेको जनाएको छ।
त्यसैगरी नाइट्रोभ्याट ३० ट्याब्लेट, ट्यापेन्टाडोल सय ट्याब्लेट, ट्रामाडोल तीन सय ८० ट्याब्लेट तथा पाँच थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरू भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्रा, ३३ वर्षीय प्रितम कुमार र २५ वर्षीय अभिषेक कुमार रहेका छन्।
उनीहरूलाई लागुऔषधसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
Copyright © 2024 | All rights reserved.