0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाले समावेशी शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यका साथ वडा नं. १७ महतगौँडास्थित जानकी माध्यमिक विद्यालयमा अटिजम प्रभावित बालबालिकाका लागि अटिजम स्रोत कक्षा सञ्चालनमा ल्याएको छ।
स्रोत कक्षाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा शुभारम्भ गरे। हाल उक्त स्रोत कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन्। महानगरपालिकाले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्दै यसलाई थप विस्तार गर्ने जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने बताए।
फरक क्षमता भएका बालबालिकाले पनि गुणस्तरीय र पहुँचयुक्त शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले महानगरले आवश्यक पूर्वाधार, स्रोत र सेवाको विस्तार गर्दै जाने उनले बताए।
उपप्रमुख गुरुङले समावेशी शिक्षा महानगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै अटिजम प्रभावित बालबालिकासहित सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यक सहयोग, स्रोत र अवसर सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे।
पोखरा महानगरपालिकाले यसअघि श्रवण अपाङ्गता भएका विद्यार्थीका लागि सृजना बहिरा माध्यमिक विद्यालय तथा दृष्टिविहीन विद्यार्थीका लागि अमरसिंह माध्यमिक विद्यालयमा पनि स्रोत कक्षा सञ्चालन गर्दै आएको छ। यसबाट विशेष आवश्यकता भएका बालबालिकालाई उनीहरूको आवश्यकता अनुसारको सिकाइ वातावरण उपलब्ध गराउने प्रयास भइरहेको महानगरपालिकाले जनाएको छ।
अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित एक प्रकारको न्युरो–विकासात्मक अवस्था हो। यसले व्यक्तिको सामाजिक व्यवहार, सञ्चार क्षमता, सिकाइ शैली तथा व्यवहारमा फरकपन ल्याउँछ। अटिजम कुनै सङ्क्रामक रोग नभई आनुवंशिक तथा मस्तिष्क विकाससँग सम्बन्धित जैविक कारणहरूको संयुक्त प्रभावका कारण हुन सक्ने विज्ञहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार अटिजमको समयमै पहिचान, प्रारम्भिक हस्तक्षेप, विशेष शिक्षण पद्धति, नियमित थेरापी तथा परिवार र विद्यालयको सहकार्यबाट अटिजम प्रभावित बालबालिकाको सिकाइ, आत्मनिर्भरता र सामाजिक सहभागितामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।
Copyright © 2024 | All rights reserved.