असार ३१, २०८३, बुधबार

‘चमत्कारी क्रिस्टल’को नाममा ३० लाख ठगी प्रयास, पोखराबाट छ जना पक्राउ


Advertisement Image
clock icon 1 day, 6 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा। अन्धकारमा आफैँ प्रकाश दिने, पानीलाई जमाएर डल्लो बनाउने र फूलको कोपिलालाई तत्काल फुलमा परिणत गर्ने ‘अद्भुत शक्तिशाली बहुमूल्य क्रिस्टल’ रहेको भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ परेका ६ जनाले पोखरा महानगरपालिका-१८ निवासी दीपेन्द्र तिमिल्सिनालाई उक्त क्रिस्टल अरबौँ रुपैयाँमा बिक्री हुने भन्दै फोटो र भिडियो देखाएर विश्वासमा पारी फागुन महिनामा १० लाख रुपैयाँ ठगी गरेका थिए।

त्यसपछि उनीहरूले थप २० लाख रुपैयाँ माग्दै रकम नदिए विभिन्न किसिमका डर र धम्कीसमेत दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले सोमबार बिहान करिब १२ः३० बजे पोखरा-२६ कालिकास्थानस्थित छहारीबाट घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट सेतो टल्किने क्रिस्टलजस्तो देखिने लाम्चो वस्तु एक थान, काठको फोल्डिङ बट्टा, चार्जर तथा ६ थान मोबाइल बरामद गरेको छ।

पक्राउ पर्नेमा म्याग्दी मालिका गाउँपालिका-४ स्थायी घर भई हाल पोखरा-२६ बस्ने ५१ वर्षीय डिलबहादुर बुढाथोकी, म्याग्दी रघुगंगा गाउँपालिका-५ का २९ वर्षीय दीपक गोतामे, पोखरा-२८ का ४५ वर्षीय प्रेमचन्द विश्वकर्मा, पर्वत फलेवास नगरपालिका-५ का ३५ वर्षीय राजन विश्वकर्मा, २९ वर्षीया रोशनी सुनार र ७२ वर्षीया खैसरा सुनार रहेका छन्।

उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Copyright © 2024 | All rights reserved.